फासीवादलाई रोक्ने हो भने प्रगतिशील तप्काले उग्र–दक्षिणपन्थसँग जोडिएका समुदायलाई उपेक्षा नगर्ने संकल्प गर्नुपर्छ
बेलायतमा हालैका दंगाले उदारवादी र वामपन्थीले उग्र–दक्षिणपन्थी विचारधारातर्फ आकर्षित भएका श्रमजीवी वर्गसँग जोडिन नसकेको चुनौतीलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ । फासीवादको बिगबिगी फैलिँदा उदारवादीले जातिद्वेषी (जेनोफोबिक) भावनालाई समर्थन गर्न खोज्नु वा वामपन्थीले मितव्ययी उपायको विरोध गर्नुको तुक हुँदैन । बेलायतलगायत पश्चिमा जगत्को अशान्तिलाई सम्बोधन गर्न प्रगतिशील तप्काले उग्र–दक्षिणपन्थसँग जोडिएका समुदायलाई उपेक्षा नगर्ने संकल्प गर्नुपर्छ ।
तीन दशकअघि मैले एक फासीवादी वृद्ध ग्रिक किसान कपनियासमार्फत फासिस्ट मानसिकताबारे बुझेको थिएँ । कपनियास अर्ध–बँधुवा कृषि मजदुरका रूपमा गरिबीमा हुर्केका थिए । उनी एक उदार जग्गा मालिकको अधीनमा बस्थे, जो नाजी कब्जाको समयमा बेलायती गुप्तचर थिए र उनले आफ्नो घरलाई प्रतिरोधको केन्द्र बनाएका थिए । बेलायती अधिकारी र कम्युनिस्ट पक्षपाती त्यहाँ आउँदा कपनियास आफ्नो वरिपरि हुने घटनाबारे अनभिज्ञ हुने गर्थे र महत्वपूर्ण घटना–परिघटनाबाट वञ्चित भएको महसुस गर्थे ।
‘म एक अछुत थिएँ’ कपनियासले सम्झिए । ‘मेरो गोरा फरिस्ताले मलाई छोएपछि ममा परिवर्तन आयो’ भन्दै उनले गर्वसाथ मेइन क्याम्फको (हिटलरको आत्मकथा) छालाले बेरिएको सन् १९३४ संस्करणको पुस्तक देखाएका थिए । नाजी अतिक्रमणका अन्तिम दिनमा उनका गेस्टापो प्रशिक्षक अर्थात् ‘गोरा फरिस्ता’ले मेइन क्याम्फ उपहार दिएका थिए । त्यसपछिको मेरो अनुहारमा आएको चरम विकर्षणमा मजा मान्दै उनले एलाइजप्रतिको (विश्वयुद्धताका नाजी जर्मनीविरुद्धको गठबन्धन) आफ्नो वैरभावलाई विस्तृत रूपमा ओकलेका थिए । ‘तिनको अहंकार, आत्मश्लाघा र घमन्डले अनगिन्ती मानिसलाई मृत्युको मुखमा पुर्यायो,’ उनले दाबी गरे । नाजी समूहसँग जोडिनुअघि नै उनमा घृणा व्याप्त थियो ।
निःसन्देह कपनियास गरिब नभएका भए उनी नाजीवादका नजिक पुग्दैनथे होलान् । सीमान्तीकरण र वञ्चितताले केही व्यक्तिलाई नैतिक खाडलमा धकेल्न सक्छ, जसले ती व्यक्तिलाई उग्रवादी विचारधारासँग जोड्छ । अर्थात्, कपनियासले झैँ मानिस नश्लीय सर्वोच्चताको विकृत तर्कसित जोडिन पुग्छन् । कपनियासले आफ्नै जनताविरुद्ध गरेको नाजी अत्याचारको आलोचनालाई पनि स्वीकार गरेका थिएनन् । बरु उनले हिंसाका लागि बेलायती, ग्रिक सरदार र वामपन्थीलाई दोष दिएका थिए । यस्तै किसिमको दोषारोपण मैले डोनाल्ड ट्रम्पको सन् २०१७ को एक भाषणमा प्रतिध्वनित भएको पाएको थिएँ । जब मैले उनलाई नजिकैको सहरमा नाजीले गरेका सयौँ हत्याबारे प्रश्न गरेँ, उनले उत्सुकतापूर्वक यस्तो जवाफ दिएका थिए–
‘असली मर्दले आफ्नो बाटोमा आउने जोकोहीलाई पनि निमिट्यान्न पार्छ, र आफ्नो बाटो तय गर्छ । यस क्रममा यदि कोही मर्छ भने तिनले आफूलाई बाँच्न योग्य नभएको स्विकार्नुपर्छ । मेरा गोरा फरिस्ता परमेश्वरभन्दा माथि थिए । इटालियन, बेलायती वा हाम्रो आफ्नै भिडविपरीत तिनले जस्तोसुकै माध्यम प्रयोग गर्न हिचकिचाउँदैनन् । तिनमा कुनै लघुताभास या भय हुँदैन । बस, तपाईंले तिनलाई आफ्नै आँखाले हेर्नुपर्छ । ती निकै सानदार थिए ।’
ती वृद्धले बोल्दा उनको अनुहार उज्यालो थियो र स्पष्ट रूपमा तिनले मेरो अनुहारको विकर्षणको मजा लिइरहेका थिए । आप्रवासीविरुद्ध आक्रमण गर्ने बेलायती दंगाई, जर्मनीको नवनाजी अल्टरनेटिभ फुर ड्युसल्यान्डका समर्थक र पुनरुत्थान भएका अमेरिकी श्वेत सर्वोच्चतावादीले आफ्नो फासीवादलाई स्पष्ट रूपमा व्यक्त नगर्न सक्छन्, तर यिनमा समान अन्तर्निहित मानसिकता हुने गर्छ । यसबाट हामीले चारवटा पाठ सिक्न सक्छौँ । पहिलो फासीवादी हिंसाले भर्तीको साधनका रूपमा काम गर्छ । यसको मुख्य लक्ष्य भनेको आक्रोशलाई भड्काउनु हो, जसले हामीलाई कठोर प्रहरी कारबाही र लामो जेल सजायको माग गर्न अग्रसर गराउँछ । यसले कपनियासजस्ता परपीडनमा आनन्दित हुने मानिसको जमात खडा गर्छ ।
दोस्रो, फासीवादी साँचो अर्थमा समुदायका निर्माणकर्ता होइनन् । यो तप्का केवल दंगा र विभाजनकारी सामाजिक सञ्जालका गतिविधिमा संलग्न हुन्छन्, जसले वास्तवमा सामुदायिक आवश्यकतालाई सम्बोधन नगरी असन्तुष्टि फैलाउँछन । तेस्रो, फासीवाद आर्थिक मन्दी वा मितव्ययिताले जन्मिने भएकाले यिनले कहिल्यै मितव्ययिताको विरोध गर्दैनन् । र, यसबाहेक मितव्ययिताको यहुदी वा मुसलमान शरणार्थीको जस्तो अनुहार पनि हुँदैन, किनभने फासीवादलाई फल्न–फुल्न त्यस्तो अनुहार चाहिन्छ, जहाँबाट हिंसात्मक घृणा सिर्जना गर्न सकियोस् । चौथो, फासीवादीका लागि आप्रवासी वास्तवमा चासोको विषय हुँदैन । कपनियाससँगको मेरो संवादले फासीवादी सजिलै विदेशीलाई गोरा फरिस्ता भनेर स्विकार्छन्, जसमा अधिक धनाढ्य एलन मस्क वा डोनाल्ड ट्रम्पजस्ता व्यक्ति पर्छन् भन्ने सिकाएको छ । यदि फासीवादीका लागि घृणा गर्न गैरश्वेत अनुहार नभए पनि तिनले अर्को घृणाको स्रोत खोज्छन् ।
यी चार पाठले केबाट बच्ने भनेर सिकाउँछन् । मूलधारका पार्टीले आप्रवासनविरोधी नम्रता अपनाए पनि यसले फासीवादीको क्रूरतालाई नै प्रोत्साहन गर्छ । त्यसैगरी, फासीवादीलाई मितव्ययिता वा कमजोर शिक्षाको सिकार भनेर चित्रण गर्दा तिनमा क्रोध मात्र बढ्छ । तिनको यहुदीद्वेष वा इस्लामद्वेषलाई विचलित पुँजीवाद विरोधको रूपमा आलोचना गर्दा पनि (यो आलोचना गलत भने होइन) यो मुद्दालाई सम्बोधन गर्न सम्भव हुँदैन ।
(भारुफाकिस ग्रिसका पूर्वअर्थमन्त्री एवं एथेन्स विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन्)
प्रोजेक्ट सिन्डिकेटबाट