आर्थिक वर्ष ०८०/८१ को बजेट वाच : निजी क्षेत्रसँग सम्बन्धित ७३ बुँदामध्ये २५ प्रतिशत मात्रै पूर्ण कार्यान्वयनमा

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

गत आर्थिक वर्ष ०८०/८१ को बजेटले घोषणा गरेका निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रम तथा योजनाको कार्यान्वयन अपेक्षाकृत हुन नसकेको देखिएको छ ।  नेपाल उद्योग परिसंघले सञ्चालन गरेको ‘सिएनआई बजेट वाच’ले गत आवको बजेटको निजी क्षेत्रसँग सम्बन्धित ७३ बुँदामध्ये २५ प्रतिशत मात्रै कार्यान्वयन भएको देखाएको हो । त्यस्तै, ७० प्रतिशत बुँदा आंशिक कार्यान्वयन र ५ प्रतिशत बुँदामा कुनै प्रगति नभएको उल्लेख गरेको छ । 

गत आर्थिक वर्षको बजेटमा निजी क्षेत्रसँग सम्बन्धित ७३ वटा बुँदामध्ये १८ वटा पूर्ण कार्यान्वयन, ५१ वटा बुँदा आंशिक कार्यान्वयन र चारवटा बुँदामा कुनै प्रगति नभएको बजेट वाचले देखाएको हो । यद्यपि, अघिल्लो आर्थिक वर्ष ०७९/८० को तुलनामा भने बजेट कार्यान्वयनमा सुधार आएको छ ।    

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अघिल्लो वर्षको बजेट कार्यान्वयनको तुलनामा गत आर्थिक वर्षमा थप सुधार आएको तथ्यांकले समेत देखाएको बताए । बजेटको सफल कार्यान्वयनबाट नै पुँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विस्तार भई आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न बजेटको सफल कार्यान्वयन अत्यावश्यक रहेको उनले बताए । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाई देशको आर्थिक विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने उद्देश्यका साथ परिसंघले नेपाल आर्थिक पत्रकार समाज ९सेजन० सँगको सहकार्यमा ‘सिएनआई बजेट वाच’ पहल सञ्चालन गरिरहेको जानकारी दिए । 

परिसंघले तयार गरेको चालू आर्थिक वर्ष ०८१/८२ को बजेटमा घोषणा गरिएका अर्थतन्त्र एवं निजी क्षेत्रसँग सम्बन्धित विषयसहितको पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यसचिव लीलादेवी गडतौलाले बजेटको सफल एवं प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताइन् ।  

चालू अबमा बजेटका ६३ बुँदाको वाच 
परिसंघले बजेटमा भएका निजी क्षेत्र र आर्थिक समृद्धिसँग सम्बन्धित विभिन्न ६३ वटा बुँदाको प्रभावकारी कार्यान्वयनका लागि चालिनुपर्ने कदमको अध्ययन गर्दै सम्बन्धित निकायको भूमिका, आवश्यक कानुनी सुधार, कुन निकायले के गर्नुपर्छ भन्ने विषयसमेत स्पष्ट रूपमा खुलाई दस्तावेज तयार गरेका जनाएको छ ।

सुझावित समाचार