अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता बंगलादेशबाट संयुक्त अरब इमिरेट्स (युएई)मा सारेको छ । बंगलादेशमा भएको पछिल्लो विद्यार्थी आन्दोलनका कारण प्रतियोगिता अनिश्चित बनेको थियो । बंगलादेशको सुरक्षा व्यवस्था र वर्तमान अवस्थाबारे चिन्ता व्यक्त गर्दै आइसिसीले टी–२० महिला विश्वकप युएई सारेको जनाएको छ । ३ देखि २० अक्टोबरसम्म बंगलादेशमा विश्वकप हुने तय थियो ।
युएईमा महिला टी–२० विश्वकप दुबई र सारजहाँमा हुने आइसिसीले जनाएको छ । आइसिसीका प्रमुख कार्यकारी जेफ एलार्डासले विश्वकप आयोजना गर्न तयार भएकोमा युएईलाई धन्यवाद दिए । आइसिसीको हेडक्वार्टरसमेत रहेको युएईमा पछिल्लो समय क्रिकेट प्रतियोगिता निरन्तर भइरहेको छ । विश्वस्तरीय पूर्वाधार र सुविधा रहेको युएईले सहजै महिला टी–२० विश्वकप आयोजना गर्ने आइसिसीले विश्वास गरेको छ ।
बंगलादेशले चासो देखाएन
आइसिसीका सिइओ जेफले बंगलादेशले महŒवपूर्ण प्रतियोगिता आयोजनाबाट वञ्चित हुँदा सम्बन्धित क्रिकेट बोर्ड तथा सरकारलाई लाज लाग्नुपर्ने बताएका छन् । ‘महिला विश्वकप युएईमा गर्दै छौँ । बंगलादेशले प्रतियोगिता गर्न नसक्दा उनीहरूलाई लाज लाग्नुपर्ने हो,’ जेफले भने, ‘यति वेला बंगलादेशको क्रिकेट संघ विश्वकप प्रतियोगितामा जुट्नुपर्ने थियो, तर उनीहरू आन्तरिक द्वन्द्वमा रुमलिएका छन् ।’
जेफले बंगलादेशबाट विश्वकप नसार्न धेरै प्रयास गरेको बताए । तर, यस विषयमा बंगलादेशले चासो नदेखाएको उनको भनाइ छ । ‘बंगलादेशमै आइसिसी महिला टी–२० विश्वकप आयोजना गर्न धेरै प्रयास भएको थियो, तर उनीहरू इच्छुक भएनन्,’ जेफले भने, ‘केही सहभागी राष्ट्रले आफ्ना नागरिकालाई तत्काल बंगलादेश भ्रमण नगर्न सूचना जारी गर्दा पनि समस्या भयो ।’ बंगलादेशले निकट भविष्यमा आइसिसीको राम्रो प्रतियोगिता आयोजना गर्न सक्ने उनले जनाए ।