परराष्ट्रमन्त्री राणा र भाजपा नेता चौथाइवालेबिच भेटवार्ता

भारतीय प्रधानमन्त्री मोदीको जोड– पानी, पर्यटन र पर्यावरणमा सहकार्य गरौँ

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

भारतीय जनता पार्टीका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बुधबार शिष्टाचार भेट गरेका छन् । नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने अनेकौँ नयाँ अवसरबारे छलफल भएको चौथाइवालेले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेका छन् । 

परराष्ट्रमन्त्री राणा आइतबारदेखि दिल्लीमा छिन् । चौथाइवालेले ३ भदौमा परराष्ट्रमन्त्री राणासँग भेट गर्ने र राखी बाँधिदिने तय भए पनि भेट भने भएन । मंगलबारदेखि स्वास्थ्योपचाररत रहेको अवस्थामा चौथाइवालेले परराष्ट्रमन्त्रीसँग साकेतस्थित होटेल सेराटनमा पुगेर भेटेका हुन् । 

‘परराष्ट्रमन्त्रीजस्तो महत्वपूर्ण पदमा नियुक्त हुनुभएकोमा उहाँलाई बधाई दिएँ,’ चौथाइवालेले भनेका छन् । उनलाई तीन वर्षअघि राणाले नेपालमा राखी बाँधिदिएकी थिइन् । राणा गत चैतमा स्वास्थ्योपचारका क्रममा दिल्ली जाँदा चौथाइवालेले भेट गरेका थिए । त्यसवेला भारतीय विदेशमन्त्री डा. एस जयशंकरले राणालाई म्याक्स अस्पतालमै गएर भेटेको राणाको पारिवारिक स्रोतले जनाएको छ । परराष्ट्रमन्त्री राणा बिहीबार अपराह्न स्वदेश फर्किने कार्यक्रम छ । 

परराष्ट्रमन्त्री राणाले सोमबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा नेपालले पानी र पर्यटनमा भारतसँग घनीभूत सहकार्य गर्न चाहेको बताएकी थिइन् । कूटनीतिक स्रोतका अनुसार मोदीको जवाफ थियो, ‘मैले २०१४ मा नेपाल भ्रमण गर्दा पानीको सम्भावना बताएको थिएँ । अहिले तपाईंहरू दक्षिण एसियामै खुद विद्युत् निर्यातकर्ता बन्नुभयो । नेपालमा पर्यटनको अपार सम्भावना छ । तपाईंहरू पर्यावरणमा पनि धनी हुनुहुन्छ । यी विषयमा सहकार्य गरौँ । हामीले कहाँ के सहयोग गर्नुपर्छ भन्नुहोला, तयार छौँ ।’

परराष्ट्रमन्त्री राणाले १९ भदौमा थाइल्यान्डको बैंककमा प्रधानमन्त्री ओली र मोदीबीच भेटको चर्चा गरिन् । ‘बिमस्टेकको सम्मेलनका क्रममा हाम्रो प्रधानमन्त्री र तपाईंको भेट पक्कै होला । उच्चस्तरीय भेटवार्ता निरन्तर हुनुपर्छ भन्ने हाम्रो भनाइ छ । तपाईंलाई नेपालमा हामी प्रतीक्षारत छौँ,’ परराष्ट्रमन्त्री राणाको भनाइ थियो । 

मोदीले टिम भनेर विदेशमन्त्री डा. एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशसचिव विक्रम मिश्री, आफ्ना प्रिन्सिपल सेक्रेटरी पिके मिश्र, नेपालका लागि राजदूत नवीन श्रीवास्तव र विदेश मन्त्रालयको नेपाल–भुटान डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तवलाई संकेत गरेका थिए । प्रधानमन्त्री मोदीले ओलीलाई बधाई सुनाइदिन आग्रह गरेका थिए । ‘ओलीजीलाई मेरोतर्फबाट धेरै–धेरै बधाई सुनाइदिनुहोस्,’ मोदीको भनाइ उद्धृत गर्दै एक नेपाली अधिकारीले भने । 

सोमबार हैदराबाद हाउसमा परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी डा. एस जयशंकरबीच भएको छलफलमा पञ्चेश्वर परियोजना कार्यान्वयन र नेपाललाई हवाई रुट अनुमतिका विषयमा छलफल भएको थियो । पञ्चेश्वरबारे भारतीय विदेशमन्त्रीको भनाइ थियो, ‘यो परियोजना ढिलो भयो । प्राविधिक रूपमा के कुरामा अड्केको हो ? कसरी सुल्झाउनु सकिन्छ ? प्राविधिक रूपमा के कसरी र राजनीतिक रूपमा कहाँनिर सुल्झाउन सकिन्छ, छलफल गरेर टुंगोमा पुगौँ ।’ परराष्ट्रमन्त्री राणाले नेपालले पानी र पर्यटनमा भारतसँग सहकार्य गर्न चाहेको उल्लेख गर्दै हवाई रुट अनुमति दिनुपर्ने बताएकी थिइन् । ‘दश वर्षमा १० हजार मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्न पाउने सुनिश्चित गर्नुभयो । भारतले नयाँ हवाई रुटको अनुमति दिएर हाम्रो पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुपर्छ र हामी यसमा सहकार्य गरौँ,’ परराष्ट्रमन्त्री राणाको भनाइ थियो ।

सुझावित समाचार