लागुऔषध कारोबारको आरोपमा पक्राउ

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

बारा रौतहटलगायतका जिल्लामा लामो समयदेखि अवैध लागुऔषधको बिक्री-वितरण गर्दै आएका एक व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको छ।

लागुऔषधका विभिन्न मुद्दामा फरार रहेका रौतहट फतुवा विजयपुर–७ घर भएका ध्यानी राउत कुर्मीका छोरा २४ वर्षीय रामविनयप्रसाद पटेललाई प्रहरीले पक्राउ गरेको हो। 

पटेलविरुद्ध विभिन्न जिल्लामा पक्राउ पुर्जी जारी भए पनि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थिएन। तर, बुधबार इलाका प्रहरी कार्यालय निजगढका प्रहरीले उनलाई बाराको निजगढ नगरपालिका–९, सहिद चोकबाट नियन्त्रण लिन सफल भएको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिए।

यसअघि, प्रहरीले गत १ असारमा निजगढ नगरपालिका- ७, घर भएका ३३ वर्षीय विकास रुम्बालाई पक्राउ गरेको थियो। प्रहरीले रुम्बासँग २५० पिस लागुऔषध ट्रामाडोल टैबलेटसहित पक्राउ गरेको थियो।

रुम्बाले पटेलसँग टैबलेट खरिद गरेर निजगढका विभिन्न प्रयोगकर्तालाई बिक्री-वितरण गर्ने काम गर्दै आएका थिए। रुम्बाकै बयानको आधारमा निजगढ प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी इलाका प्रहरी कार्यालय निजगढको लागुऔषध मुद्दा नम्बर ८० को चालू मुद्दाका फरार प्रतिवादी हुन्। 

यस्तै, पर्सा प्रहरीले गत १३ साउनमा निजगढ नगरपालिका–९, घर भएका ४३ वर्षीय गणेश पाण्डे र मिलन पाण्डेलाई एक लाख १७ हजार पिस लागुऔषध ट्रामाडोल टैबलेटसहित पक्राउ गरेको थियो। उनीहरूले भारतबाट नेपाल लागुऔषध भित्र्याउँदै गर्दा प्रहरीले उनीहरू सवार गाडीसहित पक्राउ गरेको थियो।

पछिल्लो समयमा बाराको निजगढबाट लागुऔषधको कारोबारमा संग्लन व्यक्तिहरू पक्राउको सिलसिलाले समेत यस क्षेत्रमा लागुऔषधको कारोबार र प्रयोगकर्ताहरूको संख्यामा वृद्धि भएको देखाएको हो। यस क्षेत्रबाट भारततर्फ विशेष गरी लागुऔषध गाँजा निर्यात हुने गरेको छ भने भारतबाट नेपालमा लागुऔषध ट्रामाडोल टैबलेटलगायत आयत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ।

सुझावित समाचार