नागढुंगा सडक एकतर्फी सञ्चालनमा

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण
नागढुंगा सडक एकतर्फी सञ्चालनमा

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ।

प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको हो। अहिले काठमाडौं आउनका लागि नागढुंगा तल्लो क्षेत्रमा जाममा रहेका सवारीसाधनलाई भित्र्याउन सुरु भएको छ। सवारीसाधनको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने जनाइएको छ।

वर्षा जारी रहँदा पहिरो पन्छाउने र खस्ने क्रम जारी भएकाले आज बिहान १०ः३० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो। जसका कारण काठमाडौं–नौबिसे खण्ड प्रभावित भएको छ।

प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुन सक्ने सम्भावना रहेको बताए। तीनवटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ।

‘कति वेला बन्द हुने हो भन्ने थाहा छैन, त्यसैले अहिले काठमाडौं उपत्यकामा माइकिङ गरेरै जानकारी दिएकाले आज सो क्षेत्रमा सकेसम्म यात्रा नगर्न भनिएको छ,’ उनले भने। 

नागढुंगा चोकबाट केही सय मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो। जसका कारण काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधान दिनभर ठप्प रहे। रासस

सुझावित समाचार