विद्युत् अवरुद्ध भएपछि वीर अस्पतालमा उपचार सेवा प्रभावित

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

विद्युत् अवरुद्ध भएपछि वीर अस्पतालमा उपचार सेवा प्रभावित बनेको छ । बिहान ११:३० देखि विद्युत् सेवा अवरुद्ध भएपछि अस्पतालमा दाँत विभाग, साधारण शल्यक्रिया र फाइबर स्क्यानको काम रोकिएको छ ।

बिरामीहरू बिहानैदेखि पालो कुरेर बसे पनि उपचार सेवा बन्द गरिएको छ । तर, चिकित्सकले बिरामी जाँच्ने काम भने भइरहेको छ । विद्युतीय उपकरण प्रयोग गरेर गरिने अधिकांश उपचार तथा चेकजाँच भने बन्द छ ।

विद्युत् नआउन्जेल उपचार नहुने भन्दै अस्पतालले दाँत विभाग, साधारण शल्यक्रिया र फाइबर स्क्यानका बिरामीलाई कुराएको छ । अस्पतालअगाडि रहेको ट्रान्समिटरमा आगलागी भएपछि अस्पतालआसपासमा विद्युत् सेवा बन्द भएको हो।

विद्युत् अवरुद्ध भए पनि ठुला अप्रेसन तथा अत्यावश्यक उपचार कक्षमा जेनेरेटरको प्रयोग गरिएको अस्पताल प्रशासनले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले पानी परेका कारण विद्युत् मर्मत गर्न नसकिएको जनाएको छ ।

सुझावित समाचार