मुक्तिनाथ विकास बैंक र स्याङ्जाको चापाकोट नगरपालिका– ९ मा रहेको चापाकोट क्याम्पसबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, व्यावहारिक ज्ञानका लागि इन्टर्नसिप गर्ने र बैंकिङ करिअरका लागि अवसर प्रदान गर्ने सम्बन्धमा दुई पक्षबिच सम्झौता भएको हो।
समझदारीपत्रमा बैंकका तर्फबाट बैंकका गण्डकी क्षेत्रीय प्रमुख ऋषिराम ढकाल र क्याम्पसका तर्फबाट कार्यवाहक प्रमुख पोषराज देवकोटाले हस्ताक्षर गरेका छन्। चापाकोट क्याम्पसमा व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप, वित्तीय साक्षरता कार्यक्रमलगायत करिअर विकासका कार्यक्रमहरूमा मुक्तिनाथ विकासका बैंकले प्रचलित ऐन, नियम तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रही अवसरहरू प्रदान गर्ने समझदारीको मुख्य उद्देश्य रहेको बैंकका गण्डकी क्षेत्रीय प्रमुख ढकालले बताए।
यो समझदारी पाँच वर्ष अवधिसम्म कायम रहने बताइएको छ। कार्यक्रममा मुक्तिनाथ विकास बैंक चापाकोट शाखाका प्रमुख सुन्दर श्रेष्ठ, कर्जा डेस्कका युवराज श्रेष्ठ, वालिङ शाखाका प्रमुख नवीन काफ्ले, चापाकोट क्याम्पसका पूर्वअध्यक्षहरू हिरण्यलाल आचार्य, भरत पाठक, समितिका पदाधिकारीहरूलगायतको उपस्थिति थियो।