‘यो सरकार सय दिन पनि टिक्दैन’

बुधबार, ५ भदौ, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले यो सरकार सय दिनभन्दा बढी नटिक्ने कुरा कांग्रेसकै नेताहरूले भन्ने गरेको बताएका छन् । मंगलबार दाङको घोराहीमा भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘कांग्रेसकै प्रभावशाली नेताहरूले यो सरकार सय दिनभन्दा बढी टिक्दैन भन्नुहुन्छ,’ उनले भने, ‘तर, हामी सरकारको लोभमा छैनौँ, सशक्त प्रतिपक्षकै भूमिकामा रहनेछौँ ।’ 

उनले प्रतिपक्षमा रहेर जनताका आवाज उठाउने बताए । ‘हामीले सकारात्मक कोणबाट सडक र सदनमा जनताको आवाज उठाउँछौँ,’ उनले भने, ‘हामी सधैँ सरकारमा हुँदा जनतासँगको सम्बन्ध टुटेको छ, हामीले आफ्ना कमजोरी पनि जनतालाई भन्ने छौँ र सुधारको बाटोमा जानेछौँ ।’ यसअघिको प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गरेको भन्दै त्यसमा जनता खुसी भएकोसमेत उनले बताए ।

वर्तमान सरकारले संविधान संशाेधनको नारा लगाएको भन्दै सहभागितामूलक समावेशीलाई संशाेधन गर्न खोजे त्यसको जनताबाटै विरोध हुनेसमेत उपमहासचिव पुनको भनाइ छ । उनले सकारात्मक रूपले संविधान संशाेधन गर्ने कार्यलाई स्वीकार गर्न सकिने बताए ।

जनता निराश भएको भन्दै बंगलादेशलगायत देशमा देखिएको समस्या नेपालमा पनि आउन सक्ने कुराको संकेत गरे ।

सुझावित समाचार