नेपालमा हिमतालहरूको अवस्था कस्तो छ ?
सन् १९८७ देखि २०१७ सम्मका स्याटेलाइट तस्बिरहरूको विश्लेषण गरी गरिएको अध्ययनमा हिमतालको संख्या र क्षेत्रफलमा तीव्र बढोत्तरी भएको देखिन्छ । सन् १९८७ मा ०.३६ हेक्टरभन्दा बढी क्षेत्रफलका जम्मा ६०६ हिमताल देखिएकामा सन् २०१७ मा पुग्दा त्यो संख्या १५४१ पुगिसकेको छ । अझ त्यसयता कति बढ्यो, त्यसको विस्तृत अध्ययन हुन बाँकी नै छ । यीमध्ये अधिकांश हिमतालको क्षेत्रफल निकै बढेको देखिन्छ । छोरोल्पा, इम्जालगायत कतिपय हिमताल त दुई सय प्रतिशतभन्दा धेरै बढेका देखिन्छन् । ग्लोबल वार्मिङका कारण हिमनदीहरूको आकार र लम्बाइ घट्दै जाँदा हिमतालहरूको संख्या र आकार बढिरहेको अवस्था छ ।
यी हिमतालहरू फुट्न सक्ने सम्भावना र जोखिम कति छ ?
आकार बढ्दै जाँदा स्वभावतः यस्ता हिमताल फुट्ने सम्भावना र तिनले नित्याउने जोखिम दुवै बढी नै हुन्छ । विशेषगरी ठूला ताल जोखिमपूर्ण नै हुन्छन् । यिनको आकार, भिरालोपन, हिमनदीसँग जोडिएको अवस्था, ड्यामको स्लोपलगायत पक्षले यसको मजबुतीमा प्रभाव पार्छन् । सगरमाथा र खुम्बु क्षेत्रमा रहेका ठूला हिमतालहरू बढी नै जोखिमपूर्ण देखिएका छन् । हुन त सानै ताल पनि फुट्न सक्छन् र तिनले जोखिम निम्त्याउन सक्छन् भन्ने भर्खरैको थामे घटनाले पनि पुष्टि गरिसकेको छ ।
यस्ता हिमतालको जोखिम घटाउन के–कस्ता प्रयास भइरहेका छन् ?
यति धेरै संख्यामा रहेका हिमतालहरूको जोखिम घटाउनु सजिलो काम होइन । तैपनि, बढी जोखिम देखिएका छोरोल्पा, इम्जालगायत हिमतालको पानी घटाउने काम भएको छ । तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई समयमै सूचना दिने पूर्वसूचना प्रणाली स्थापना गरिएको छ । प्रयास नै नभएको होइन, तर त्यो हिमताल र तिनले निम्त्याउन सक्ने जोखिमका आधारमा हेर्दा पर्याप्त भने छैन ।