लैंगिक तथा यौनिक अल्पसंख्यकले मनाए गाईजात्रा

मंगलबार, ४ भदौ, २०८१
डिजिटल संस्करण

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले फरक तरिकाले गाईजात्रा मनाएका छन्। मंगलबार दिउँसो ठमेलस्थित सञ्चय कोष भवनअगाडि भेला भएका तेस्रोलिंगी, अन्तरलिंगी, समलिंगी समुदायका व्यक्तिहरूले गौरव दिवस (प्राइड डे)का रूपमा गाईजात्रा मनाएका हुन्।

गाईजात्राका क्रममा उनीहरूले सांस्कृतिक पहिरन तथा बाजासमेत प्रस्तुत गरे। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले फरक ढंगले मनाएको कार्यक्रम हेर्न आउने पर्यटकहरू झुम्मिएका थिए।

गाईजात्रामा देशभरिका एक हजार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू सहभागी थिए। सहभागीमध्ये करिब तीन सय व्यक्ति उपत्यकाबाहिरबाट आएको ब्लु डाइमन्ड सोसाइटीमा कार्यरत पिटरले बताइन्।

‘गाईजात्राको समयमा बोल्न सजिलो हुन्छ, यो समाज हामी पनि छौँ है भनेर प्रतिनिधित्व जनाएका हौँ,’ उनले भनिन्, ‘हाम्रो कार्यक्रममा एक हजारभन्दा धेरै व्यक्तिहरू सहभागी थिए।’ उनका अनुसार सो गाईजात्रा ठमेल सञ्चयकोष भवनअगाडिबाट सुरु भएर वसन्तपुरमा पुगेर सकिएको थियो।

गाईजात्रा हेर्न महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री  नवलकिशोर साह सुडीलगायत नर्वेजियन र अमेरिकी प्रतिनिधिको सहभागिता रहेको थियो। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले हरेक वर्ष यो जात्रा मनाउने गर्छन्।

हेनुस् तस्बिरहरू :

(तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका )

सुझावित समाचार