लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

मन्त्रिमण्डलले अझै पाएन पूर्णता

मंगलबार, ४ भदौ, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन्। आज मंगलबार बसेको प्रदेश सभाको चौथो अधिवेशनको २५औँ बैठकमा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा ७० र विपक्षमा ११ मत परेको हो।

सो मत प्रदेश सभाको बहुमत रहेको भन्दै मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा सभामुख तुलाराम घर्तीमगरले गरेका थिए। संघमा सत्तासमीकरण फेरिएसँगै गत साउन ७ मा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए। ८७ प्रदेश सभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्नेमा मुख्यमन्त्रीले ७० मत पाएका हुन्।

नयाँ सत्तासमीकरणसँगै मुख्यमन्त्री बनेका आचार्यको पक्षमा एमाले र कांग्रेस तथा अन्य केही साना दलहरूले मत दिएका छन्। प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपा चार, नाउपा चार, जनमत तीन, लोसपा तीन, जसपा दुई तथा जसपा नेपाल, एकीकृत समाजवादी, राजमो र स्वतन्त्र एक–एक गरी ८७ सदस्य रहेका छन्।

प्रदेश सभा बैठकमा आफ्नो पक्षमा विश्वासको मत दिन सबै दललाई आह्वान गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको विकासका लागि सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका थिए।

विश्वासको मत पाए, मन्त्रिमण्डलले पूर्णता पाएन
मुख्यमन्त्री नियुक्त भएको २९औँ दिनमा मंगलबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री आचार्यले विश्वासको मत पाए पनि मन्त्रिपरिषद्लाई अझै पूर्णता दिन सकेका छैनन्।

प्रदेशमा १२ सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गरिएको छ। मुख्य सत्ताघटक कांग्रेस र एमालेबिच सोहीअनुसारको समझदारी पनि छ। तर, एमाले र कांग्रेसबाट पाँच–पाँचजना सहभागी हुने भनिएकोमा कांग्रेसले एक मन्त्रीको नाम टुंग्याउन नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको हो।

प्रदेशमा हाल मुख्यमन्त्रीसहित एमालेबाट पाँच र कांग्रेसबाट चार मन्त्री छन्। दुईजना मन्त्री साना दलबाट सहभागी गराउने कांग्रेस–एमालेले बताउँदै आएका छन्। तर, कुनकुन दललाई सहभागी गराउने भन्ने विषय पनि निष्कर्षमा पुगेको छैन।

सुझावित समाचार