समाचार हटाउन पत्रकारलाई मेयरको धम्की, महासंघद्वारा आपत्ति

मंगलबार, ४ भदौ, २०८१
डिजिटल संस्करण

सिराहाको धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतोले समाचारलाई लिएर पत्रकारलाई धम्कीपूर्ण शैलीमा समाचार हटाउन दबाब दिएको भन्दै तत्काल व्यवहार सुधार गरी पत्रकारहरूलाई स्वतन्त्र रूपमा लेख्न र बोल्न दिने स्वतन्त्रताको सुनिश्चितता माग गरिएको छ। 

नेपाल पत्रकार महासंघ सिराहा शाखाले धनगढीमाईका मेयर महतोको अनुदार कार्यशैली र व्यवहारको निन्दा गर्दै तत्काल व्यवहार सुधार गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गरेको हो। शाखाले सोमबार प्रेस विज्ञप्तिमार्फत नगर प्रमुख महतोले प्राइम टेलिभिजनका समाचारदाता मुकेश यादव (स्वामी)लाई समाचारको विषयमा धम्की दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पत्रकार यादवले गत २३ साउनमा प्राइम टेलिभिजन र न्युज कारखानामा धनगढीमाई नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत खानेपानीका लागि बोरिङ जडान गर्दा उपभोक्ताहरूसँग अवैध रूपमा रकम असुलेको समाचार लेखेपछि नगर प्रमुखले समाचार हटाउन दबाब दिएका विज्ञप्तिमा उल्लेख छ। 

वडाध्यक्षहरूको पहलमा नगर प्रमुखका निकट व्यक्तिमार्फत एक थान बोरिङ जडान गरेबापत ३० देखि ४० हजार रकम असुल गरेको समाचार प्रसारण, प्रकाशन भएको विषयमा चित्त नबुझे कानुनी उपचारको बाटो हुँदाहुँदै पत्रकारलाई धम्क्याउँदै तत्काल समाचार नहटाए जे पनि हुन सक्छ भन्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप रहेको महासंघले जनाएको छ।

सुझावित समाचार