पाक्नुअघि नै स्याउको बगैँचा बिक्री

मंगलबार, ४ भदौ, २०८१
डिजिटल संस्करण

जुम्लाबाट गत वर्ष १० हजार मेट्रिकटन स्याउ जिल्लाबाहिर बिक्री भएको थियो भने पाँच हजार मेट्रिकटन जुम्लामै खपत, जुम्लाका १८ हजार घरधुरीमध्ये १६ हजारभन्दा बढी घरधुरी स्याउखेतीमा संलग्न

चन्दननाथ नगरपालिका– २, खोलीकोट गाउँका उमेरले ७७ वर्षीय किसान रामकृष्ण बुढ्थापा स्याउखेतीदेखि मौरीपालन तथा जडीबुटी  उत्पादनसम्म गर्छन् । आम्दानीको प्रमुख पेसा स्याउखेती बनाएका उनको बगैँचामा दुई टन स्थानीय र एक टन फुजी जातको स्याउ उत्पादन हुने देखिन्छ ।

गत वर्ष बगैँचामै प्रतिकेजी ६० रुपैयाँमा स्थानीय स्याउ बिक्री गरेका उनले यो वर्ष प्रतिकेजी ७० रुपैयाँमा बेच्ने योजना बनाएका छन् । स्याउ व्यापारी बगैँचामै खरिद गर्न आउन थालिसके पनि कृषि विकास कार्यालयले भदौ दोस्रो सातासम्म स्याउ नटिप्न भनेको छ । तर, जलवायु परिवर्तनका कारण स्याउमा छिट्टै कलर आइसकेका केही स्याउ जमिनमा झरिसकेकाले चाँडै टिप्नुपर्ने उनको भनाइ छ ।

चन्दननाथ नगरपालिका– ९, उमगाडका रतनबहादुर रावतको बगैँचामा पनि एक सय ५० बिरुवा भएको बगैँचा छ । उनले ३० क्विन्टल स्याउ उत्पादन हुने अनुमान गरेका छन् । उनको बगैँचामा पनि स्याउ खरिद गर्न पेस्की लिएर खरिदकर्ता आइसकेका छन् । उनले यो वर्ष चार सय क्विन्टल स्याउका लागि पेस्की रकम बुझिसकेका छन् ।

त्यस्तै, १० वर्षदेखि स्याउखेती गर्दै आएका चन्दननाथ नगरपालिका– ८, धरालावडाका भैरव धरालाको बगैँचामा ६ सय बिरुवा छन् । चार सय क्विन्टल स्याउ उत्पादन गर्ने अनुमान गरेका छन् । स्याउ फुल्ने वेलामा लामो समयसम्म खडेरी तथा कालो तुसारो पनि परेकाले उत्पादन कम हुने उनले बताए । 

दशकदेखि किसानकै बारीमा धाइरहेका छन् व्यापारी : जंगबहादुर बस्नेत प्रशासन प्रमुख, तिला गाउँपालिका
तातोपानी गाउँपालिका–२, जर्मीगाउँका स्याउ व्यापारी नरेन्द्र बुढा अहिले किसानका स्याउ बगैँचामा धाइरहेका छन् । किसानलाई स्याउको अग्रिम पेस्की दिन बगैँचामा पुग्ने गरेका उनले बताए ।

उनले भने, ‘यो सिजनमा हरेक वर्ष स्याउको व्यापार गर्दै आएको छु । यस वर्ष पनि किसानबाट स्याउ खरिद गरी पोखरा, काठमाडौं, नेपालगन्ज, धरानमा स्याउ बिक्री गर्न लैजाने तयारी गरेको छु ।’   

जुम्लाका आठवटै स्थानीय तह र कृषि विकास कार्यालयले भदौ पहिलो–दोस्रो सातासम्म स्याउ नटिप्न सुझाएका छन् । जुम्ला र कालीकोटको सीमा क्षेत्रमा पर्ने नाग्म प्रहरी चौकीलाई ५ भदौभन्दा अगाडि स्याउ निकासी गर्न नदिन परिपत्रसमेत गरेको तिला गाउँपालिका प्रशासन प्रमुख जंगबहादुर बस्नेतले बताए ।

उनले भने, ‘भदौअघि नै टिप्न थाल्यो भने स्याउ परिपक्व नहुने, रङ नभरिने, उपभोक्ताले आवश्यक स्वाद प्राप्त नगर्ने, काँचो स्याउले जुम्ली जैविक स्याउको कुप्रचार मात्र नभई यहाँको बदनाम हुने तथा किसानले सोचेको मूल्य नपाउने कुरालाई गहन अध्ययन गरी तोकिएको मितिभन्दा अगाडि स्याउ संकलन तथा निकासी गर्न रोक लगाइएको हो ।’ कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार गत वर्षभन्दा २० प्रतिशत कम उत्पादन हुने देखिन्छ । 

See More On

सुझावित समाचार