दोस्रो विश्वयुद्धपछि पुँजीवादी र समाजवादी समूहबिच लामो शीतयुद्ध भए पनि त्यसको अन्त्य भइसकेको छ, तर इजरायल–प्यालेस्टाइन द्वन्द्व सुल्झिनुको सट्टा झन् बल्झिएको छ
जोर्डन उपत्यका र भूमध्यसागरबिचको भूमिलाई लिएर अरब र यहुदीबिच सय वर्षभन्दा लामो समयदेखि द्वन्द्व चलिरहेको छ । पवित्र सहर जेरुसेलमवरपरका यस भूमिका लागि जारी द्वन्द्व परिवर्तन हुँदै छ, खतरनाक रूपमा । यो द्वन्द्व ओटोमन साम्राज्यको समयदेखि सुरु भयो र पहिलो विश्वयुद्धपछि पनि जारी रह्यो । पहिलो विश्वयुद्धपछि शान्ति प्रवद्र्धनका लागि स्थापित अन्तर्राष्ट्रिय संस्था लिग अफ नेसनले दुई युरोपेली शक्ति बेलायत र फ्रान्सलाई सो क्षेत्रको म्यान्डेट प्रदान गर्यो, जुन वास्तावमा अलग नाममा औपनिवेशिक शासनकै निरन्तरता थियो ।
दोस्रो विश्वयुद्ध जर्मनीमा नाजी शासनको पतनसँगै अन्त्य भयो । सन् १९४७ मा नवनिर्मित संयुक्त राष्ट्र संघमा दुईतिहाइ सदस्यले बेलायतको ‘म्यान्डेट टेरिटोरी’ प्यालेस्टाइनलाई विभाजन गर्ने योजनामा सहमति जनाए । सोही योजनाअनुरूप सन् १९४८ मा इजरायलको स्थापना भयो । इजरायल स्थापनालगत्तै यसका अरब छिमेकीले यसमाथि पहिलो युद्धको घोषणा गरे । एक वर्ष लामो संघर्षमा अरब पक्षधर पराजित भए । परिणामस्वरूप लाखौँ अरबहरू सो विवादित भूमिबाट विस्थापित भए, जुन परिघटना अरबी शब्द ‘नक्बा’को (जसको अर्थ विपत्ति हुन्छ) नामले चिनिने गर्छ । तर, द्वन्द्व त्यतिमै समाप्त भएन । त्यसपछिका दशकमा थप युद्ध भयो । प्रत्येक इजरायल–अरब मुलुकबिचको युद्ध प्रायः इजरायली जितमा टुंगिए र सो भूमिमा बसोवास गर्ने थप अरबीहरू विस्थापन र निष्कासन भए ।
झन्डै शताब्दी लामो संघर्षको अवधिमा, बृहत्तर विश्व ठूलो भूराजनीतिक परिवर्तनबाट गुज्रिसकेको छ । पुरानो औपनिवेशिक साम्राज्यको पतन भयो । विश्वले दुईवटा विनाशकारी विश्वयुद्ध भोग्यो । दोस्रो विश्वयुद्धपछि पुँजीवादी र समाजवादी समूहबिच लामो शीतयुद्ध भएर त्यसको पनि अन्त्य भइसकेको छ । तर, यति लामो समयमा इजरायल–प्यालेस्टाइन द्वन्द्व भने सुल्झिनुको सट्टा ज्युँकात्युँ छ । तथापि, यो द्वन्द्व मुख्यतया क्षेत्रीय मुद्दा वा दुई साना जनसंख्याबिचको स्थानीय मामिलामा सीमित रहेको छ ।
सन् १९१४ को ग्रीष्ममा साराजेभोमा भएको संकटविपरीत यो द्वन्द्वले कहिल्यै पनि विश्वव्यापी द्वन्द्व भड्काउने वा ठुला शक्तिबिचको टकरावलाई (विश्वयुद्ध) जन्म दिएन । (साराजेभोमा भ्रमणमा गएका अस्ट्रिया–हंगेरी साम्राज्यका युवराज आर्कड्युक फ्रान्ज फर्डिनान्डलाई सर्बियाली राष्ट्रवादी युवकले गोली हानी हत्या गरेपछि पहिलो विश्वयुद्ध सुरु भएको थियो ।) तर, विश्वको वर्तमान भूराजनीतिक यथार्थले त्यस्तै खालको महाविपत्ति निम्त्याउन सक्ने जोखिम बढेको छ ।
हमासले गाजासँग जोडिएको इजरायली भूमिमा आक्रमण गरेर सर्वसाधारणको नरसंहार गरेको र युवा र वृद्ध, महिला र बालबालिकासहित सयौँलाई बन्धक बनाएको पनि झन्डै एक वर्ष भइसकेको छ । त्यसपछि गाजामा सुरु भएको युद्धले डरलाग्दो संख्यामा प्यालेस्टिनी नागरिकको ज्यान लिएको छ । हमास लडाकुले आफू र आफ्ना हातहतियार आमप्यालेस्टिनी नागरिकबिच लुकाउने गरेका छन् । तर, सुरुदेखि नै पछिल्लो युद्ध एउटै भूमिका लागि यहुदी–प्यालेस्टाइनबिचको शताब्दी पुरानो द्वन्द्वको अर्को रक्तपातपूर्ण अध्यायभन्दा बढी देखियो । यो इरान र यसका ‘प्रतिरोधी तप्का’ र यसका विरोधीबिचको क्षेत्रीय प्रभुत्वका लागि संघर्षमा बदलिएको छ ।
इरानले अप्रिल १३ मा आफ्नै भूभागबाट इजरायलविरुद्ध अभूतपूर्व मिसाइल आक्रमण गरेदेखि दुवै अघोषित युद्धको स्थितिमा छन् । अब यो संघर्ष एक जमिनको टुक्रामा सीमित रहेन, यसले धेरै ठूलो आयाम बोकेको छ । किनकि, मध्यपूर्वको सबैभन्दा बलियो सैन्य शक्ति इजरायल अस्तित्वमा रहेसम्म इरानले आफ्नो क्षेत्रीय प्रभुत्वको लक्ष्य हासिल गर्न सक्दैन । इरानका लागि इजरायल क्षेत्रीय प्रभुत्वको एक मात्र साधन रहेको छ । यहुदी राज्यले इरानलाई उसको मुख्य अरब प्रतिद्वन्द्वी साउदी अरबविरुद्ध एक महत्वपूर्ण फाइदा प्रदान गरेको छ– हमास, हिजबुल्लाह र प्रतिरोधको अक्षमा अन्य सहभागीहरूको निर्माणको आधार प्रदान गरेर ।
इरानको उन्नत आणविक कार्यक्रम त्यही उद्देश्यको अर्को साधन हो । इरानले यदि आणविक अस्त्र निर्माण गर्यो भने त्यसले मध्यपूर्वमा मात्र होइन, विश्वव्यापी रूपमा शक्ति सन्तुलन परिवर्तन गर्नेछ । यस्तोमा मध्यपूर्वमा बृहत्तर क्षेत्रीय युद्धको सम्भावना बलियो बनेको अवस्थामा यसलाई रोक्ने सामथ्र्य कमैमा देखिन्छ । इजरायलले तेहरान र बेरुतमा मारेका क्रमशः हमास र हिजबुल्लाहका शीर्ष नेताको हत्याको बदला लिने इरान र उसका छद्म साझेदारहरूले कसम खाएका छन् । नाटकीय रूपमा बदलिरहेको बढ्दो रूपमा अस्थिर विश्वमा शताब्दी पुरानो मध्यपूर्वको द्वन्द्वले नयाँ रूप लिएको छ । इरान रुस र चीनको नजिकको साझेदार भएकाले यस द्वन्द्वमा विश्वका सबै प्रमुख शक्ति पहिले नै जोडिइसकेका छन् । त्यसबाहेक एक प्रमुख ऊर्जा निर्यातक भएकाले यस क्षेत्रमा द्वन्द्व बढ्दा विश्वभर गम्भीर आर्थिक अवरोध सिर्जना हुनेछ ।
सन् १९७० को दशकमा जस्तै मध्यपूर्वले विश्वव्यापी आर्थिक संकट निम्त्याउने सम्भावना छ । तथापि, यसपटक पहिलेजस्तो कुनै व्यावहारिक समाधानको सम्भावना देखिँदैन । संलग्न सबै पक्ष आ–आफ्नै स्वार्थ तथा सम्भावित चालप्रति दृढतापूर्वक विश्वस्त छन् । र, प्यालेस्टाइनी वा इजरायलीहरू सजिलै हार मान्ने पक्षमा छैनन् । क्षेत्रीय प्रभुत्व र आणविक हतियारको प्राप्तिका लागि इजरायल र उसको सुरक्षामा स्वतः तानिने संयुक्त राज्य अमेरिकासँग फराकिलो युद्धको जोखिम मोलेर इरानी शासकले आफ्नै अन्त्य निम्त्याउन सक्छन् । उता, यसबिच इजरायलले अन्तर्राष्ट्रिय दबाबलाई बेवास्ता गर्दै गाजामा आफ्नो क्रूर सैन्य अभियानलाई निरन्तरता दिएर विश्व जगत्मा आफूलाई एक्ल्याउनेछ । दुवै पक्षले संयम त्यागेका छन्, जुन हामी सबैका लागि चिन्ताको विषय हो ।
(फिसर सन् १९९८ देखि २००५ सम्म जर्मनीका विदेशमन्त्री तथा भाइस चान्सलर थिए । उनी करिब २० वर्ष जर्मनीको ग्रिन पार्टीका नेता थिए ।
– प्रोजेक्ट सिन्डिकेटबाट