जापानी प्रधानमन्त्री किसिदाले अकस्मात् किन गरे पदत्याग गर्ने घोषणा ?

पछिल्लो समय प्रधानमन्त्री किसिदाप्रति सर्वसाधारणको समर्थन निरन्तर घट्दै गएको देखिन्छ

मंगलबार, ४ भदौ, २०८१
डिजिटल संस्करण

एक आश्चर्यजनक घोषणामा जापानी प्रधानमन्त्री फुमियो किसिदाले केही दिनअघि आफूले सत्तारुढ लिबरल डेमोक्य्राटिक पार्टी (एलडिपी) को नेताबाट अर्को महिना राजीनामा दिने र प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकाल चाँडो अन्त्य गर्ने घोषणा गरे । अक्टोबर २०२१ मा कार्यालयमा आएदेखि किसिदाले अनुमोदन रेटिङ पार गर्न संघर्ष गरिरहेका छन् । अर्थात्, उनलाई सर्वसाधारणको समर्थन निरन्तर घट्दो छ । ०२२ मा पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि कोरियामा रहेको युनिफिकेसन चर्चसँग पार्टीको सम्बन्ध रहेको खुलासा र गत नोभेम्बरमा पर्दाफास भएको राजनीतिक कोष संकलनमा भएको घोटलापछि पार्टीलाई ठूलो झड्का दिएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ । यही झड्काबीच प्रधानमन्त्रीले पदत्याग गर्ने घोषणा गरेका छन् ।

किसिदाले पार्टीमा आफ्नै शक्तिशाली शाखा विघटन गरे र घोटालाको पूर्वसन्ध्यामा यसअघि आबेले नेतृत्व गरेको सबैभन्दा ठुलो रुढिवादी गुटलाई विघटन गर्न दबाब दिए । घोटलामा डाइट (जापानको संसद्) का ८० एलडिपी सदस्यहरू संलग्न थिए र चार क्याबिनेट मन्त्रीहरूले राजीनामा दिए । घोटालाको अनुसन्धान गरिरहेका सरकारी वकिलहरूले प्रमाणको अभावका कारण किसिदा र अन्य सात वरिष्ठ एलडिपी नेताविरुद्ध अभियोग अगाडि नबढाउने निर्णय गरे । केवल तीन महिनाअघि किसिदाले भ्रष्टाचारविरोधी उपाय र अन्य राजनीतिक सुधार अघि बढाउने वाचा गर्दै आफूले पछि नहट्ने वाचा गरे ।

क्षति रोक्न प्रयासस्वरूप एलडिपीले राजनीतिक कोष नियन्त्रण कानुन सुधार गर्न जुनमा संसद्मा एक विधेयक पारित गर्यो । तर, विपक्षीहरूले त्यसलाई अपर्याप्त भने । सामुद्रिक स्वरक्षा फौजका प्रमुखले पनि गत महिना राष्ट्रिय सुरक्षा सूचनालाई गलत प्रयोग गरेको आरोपमा राजीनामा दिएका थिए, जसले किसिदा सरकार झन् अप्ठ्यारो अवस्थामा परेको थियो । जुलाईको अन्तमा भएको सर्वेक्षणमा ७४ प्रतिशत उत्तरदाताले सेप्टेम्बरमा एलडिपी नेतृत्वको चुनावपछि किसिदा पार्टीको नेताको रूपमा रहिरहेको आफूहरूले देख्न नचाहेको बताएका थिए । उनीप्रति सार्वजनिक अलोकप्रियता कायम रहँदा एक महिनापछि भएको मतदानमा एलडिपी डाइट सदस्यहरूको बहुमतको समर्थन प्राप्त गर्ने सम्भावना देखिँदैन । त्यसैले पनि उनको राजीनामा अवश्यम्भावी छ ।

व्यापक रूपमा एक स्थिर 
विदेश नीति प्रवर्तकको रूपमा पछिल्ला महिनामा किसिदाको कार्यकाल एक बलियो कूटनीतिक उपस्थितिको एक शृंखला थियो भन्दा अतिशयोक्ति नहोला । उनले वासिंटनमा नाटोको ७५औँ वार्षिकोत्सवको शिखर सम्मेलनमा भाग लिए र त्यसपछि जर्मनीको आधिकारिक भ्रमण गरे । त्यसपछि उनी गत महिना प्यासिफिक टापुका नेताहरूको बैठकको आयोजना गर्न राजधानी टोकियो फर्किए । उनी गत हप्ता मध्य–एसियाको भ्रमणमा जाने भएका थिए, तर जापानमा ७.१ म्याग्निच्युडको भूकम्प गएपछि उनले भ्रमण रद्द गरेका थिए ।

यस्ता छन् उदाउँदा प्रतिद्वन्द्वी
किसिदाका प्रतिद्वन्द्वीहरूले आउँदो महिना हुने पार्टी नेतृत्वको चुनाव र नयाँ प्रधानमन्त्री बन्न आआफ्नो दाबी पेस गर्न सुरु गरेका छन् । पूर्वरक्षामन्त्री सिगेरु इसिबा नियमित रूपमा जनताको मनपर्ने उम्मेदवारका रूपमा सर्वेक्षणमा आगडि देखिएका छन् । उनले किसिदाका पूर्ववर्ती योसिहिदे सुगाको समर्थनमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । एलडिपीका वर्तमान महासचिव तोसिमित्सु मोटेगी (जसले कोष संकलन काण्डको कारण आफ्नो गुट विघटन गर्न अस्वीकार गरे) पनि सम्भावित दाबेदार मानिन्छन् । २०२१ को नेतृत्व दौडमा किसिदाका विरोधीमध्ये एक डिजिटलमन्त्री तारो कोनोले पनि पार्टी नेता र प्रधानमन्त्रीका लागि आकांक्षा देखाएका छन् ।

आर्थिक सुरक्षामन्त्री साने ताकाइची र विदेशमन्त्री योको कामिकावा पनि प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् । यदि यीमध्ये कुनै एकले जिते भने जापानमा पहिलो महिला प्रधानमन्त्री हुनेछन् ।

चुनौती यथावत्
सेप्टेम्बरमा किसिदालाई प्रतिस्थापन गर्ने जोकोहीले पनि अक्टोबर २०२५ मा हुने अर्को राष्ट्रिय चुनावअघि एलडिपीको चुनावी भाग्यलाई पुनर्स्थापित गर्नुपर्नेछ । यसको महत्वपूर्ण पक्ष जापानको सुस्त वृद्धिलाई पुनरुत्थान गर्ने हो । किसिदा सरकारले ‘नयाँ पुँजीवाद’ नीतिलाई पुनरुत्थान गर्न सापेक्ष असफलता देखाएको छ । कमजोर येनले जापानका केही ठुला निगमहरूको निर्यात आम्दानी र नाफा बढाएको छ र पर्यटन उद्योगलाई पूर्वमहामारीस्तर पार गर्न मद्दत गरेको छ ।

तर, उच्च मूल्यको आयातले सामान्य जापानीको खपतलाई थप घटाएको छ । विशेषगरी निश्चित आम्दानीमा, अनियमित, कम पारिश्रमिकमा र आकस्मिक काम गर्नेहरूको खपतलाई थप घटाएको छ ।

जापानमा घट्दै गएको श्रमशक्तिले पनि आर्थिक र सामाजिक तनावलाई बढाइरहेको छ । र, केही दिनअघि बैंक अफ जापानद्वारा ब्याजदर शून्य दशमलव २५ प्रतिशतमा बढाउने निर्णयले सेयर बजारमा अस्थिरताको लहर सिर्जना गर्यो । निक्केई इन्डेक्सले सन् १९८७ यताकै सबैभन्दा ठूलो गिरावटको सामना गर्यो, यद्यपि यो त्यतिवेलादेखि धेरै हदसम्म रिकभर भएको थियो ।

जापानको गठबन्धनलाई बढावा दिन किसिदाको पर्याप्त प्रयास र रक्षा खर्चमा हालैको वृद्धिका बाबजुद देशले बढ्दो खतरापूर्ण सुरक्षा वातावरणको सामना गरिरहेको छ । यदि डोनाल्ड ट्रम्प नोभेम्बरमा अमेरिकी राष्ट्रपतिमा विजयी भएमा यो अझ चुनौतीपूर्ण हुन सक्छ । हालैका गल्ती र घोटालाहरूको बाबजुद प्रमुख प्रतिपक्षी संवैधानिक लोकतान्त्रिक पार्टीको निरन्तर कमजोरीलाई ध्यानमा राख्दै एलडिपी अर्को चुनावमा फेरि सत्तामा फर्किने सम्भावना छ ।

त्यसपछि अर्को प्रधानमन्त्रीले विपक्षी दलबीचको असन्तुष्टिको फाइदा उठाउन छोटो हनिमुन अवधिको फाइदा उठाउँदै यस वर्ष मध्यावधि निर्वाचन गर्ने निर्णय गर्न सक्छन् । जेहोस् कुनै पनि नयाँ नेताले वर्षौंको राजनीतिक नाटकपछि थकित र विक्षिप्त जापानी जनतालाई धैर्यका लागि अपिल गर्न धेरै समय लिनेछन् ।

मार्क होसेई युनिभर्सिटीका लेक्चरर हुन् 

– द कन्भर्सेसनबाट

सुझावित समाचार