सन् १९१४ : प्रथम विश्वयुद्धको समयमा जर्मनीको सेनाद्वारा ब्रसेल्स कब्जा गरेको घोषणा ।
सन् १९४० : मेक्सिकोमा लियोन ट्रोत्स्कीमाथि आक्रमण । रुसी क्रान्तिकारी तथा रेड आर्मीका संस्थापक ट्रोत्स्कीलाई एनकेविडीका एक गुप्त एजेन्टले उनको घरमा आक्रमण गरे । आक्रमणका क्रममा लागेको चोटका कारण एक दिनपछि उनको मृत्यु भएको थियो ।
सन् १९६० : माली महासंघबाट अलग हुँदै सेनेगलद्वारा पूर्ण स्वतन्त्र भएको घोषणा । स्थापना भएको एक वर्षपछि सेनेगल माली महासंघबाट बाहिरिएको हो । लियोपोल्ड सेनघोर एक महिनापछि सेनेगलको पहिलो राष्ट्रपति बने ।
सन् १९८८ : सात वर्षपछि इरान र इराकबीचको द्वन्द्व अन्त्य । सन् १९८० को सेप्टेम्बर २२ मा इराकले इरानलाई अतिक्रमण गरेपछि मध्यपूर्वका दुई देशबीचको युद्ध सुरु भएको थियो ।
सन् १९९३ : ओस्लो सम्झौता निष्कर्षमा पुग्यो । ओस्लोको फाफो इन्स्टिच्युटमा सम्पन्न वार्तामा इजरायल र प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पिएलओ)बिच सम्झौता भएको थियो । सम्झौताले प्यालेस्टिनी प्राधिकरणको स्थापना गर्नुका साथै गाजापट्टी र वेस्ट बैंकमा शासन गर्ने अधिकार दियो ।