युद्धविराम प्रस्ताव नेतान्याहुको पक्षमा रहेको हमासको दाबी

सोमबार, ३ भदौ, २०८१
डिजिटल संस्करण
युद्धविराम प्रस्ताव नेतान्याहुको पक्षमा रहेको हमासको दाबी

फाइल तस्बिर

हमासले दोहामा गत हप्ता प्रस्तुत नयाँ गाजा युद्धविराम प्रस्तावको आलोचना गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सर्त र स्थायी युद्धविराममा सहमत हुन अस्वीकार गरेको छ।

हमासले युद्धविराम प्रस्ताव नेतान्याहुको मागसँग मेल खाने जिकिर गर्दै स्थायी युद्धविरामबारे अस्वीकारोक्ति प्रकट गरेको छ भने रफाह क्रसिङ र फिलाडेल्फी करिडोरमा नियन्त्रण कायम राखी कैदी आदानप्रदान सम्झौतामा बाधा पुर्याएको छ।

मध्यस्थकर्ताको पहलमा भइरहेको वार्ताको असफलताप्रति नेतान्याहु नै पूर्ण जिम्मेवार रहेको हमासको दाबी छ। गाजाविरुद्ध आक्रमण जारी राखेर इजरायली बन्धकहरूलाई खतरामा पारेको उसको भनाइ छ।

जुलाई–२ मा भएको सम्झौता प्रतिबद्धता दोहोर्याउँदै हमासले अमेरिकी राष्ट्रपति जो बाइडेनको र  राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावको आधारमा इजिप्ट र कतारका मध्यस्थकर्तालाई सहमतिका सर्तहरू लागू गर्न आग्रह गरेको छ। 

बिहीबारदेखि शुक्रबारसम्म दोहामा सम्पन्न गाजा युद्धविरामपछि मध्यस्थकर्ताले संयुक्त विज्ञप्ति जारी गर्दै वार्तामा ‘रचनात्मक’ प्रगति भएको र सम्बन्धित पक्षहरूले आगामी दिनमा सम्झौताको कार्यान्वयनको विवरणका लागि वार्ता प्रयास जारी राख्ने घोषणा गरेका छन्।

नेतान्याहुको कार्यालयले मध्यस्थकर्ताको प्रयासप्रति कृतज्ञता व्यक्त गर्दै उनीहरूले हमासलाई मेको अन्त्यमा गरिएका प्रस्तावको सर्तहरू स्वीकार गर्न मनाउने आशा व्यक्त गरेको छ।

हमासले इजरायललाई पहिले सहमति भएका प्रस्तावमा नयाँ सर्तहरू थप्ने गरेको आरोप लगाउँदै वार्ताको नतिजाबारे शंका व्यक्त गरेको छ।

सुझावित समाचार