अमेरिकी राजनीतिमा उमेरहदको आवश्यकता

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

निर्वाचित पदाधिकारी बुढेसकालसम्म पदमा बस्नु स्वस्थ लोकतन्त्रको लक्षण होइन

सन् २०२४को राष्ट्रपति चुनावको दौडबाट जो बाइडेन बाहिरिनु यस वर्षको प्रमुख समाचारमध्ये एक हो । जुन महिनाको राष्ट्रपतीय बहसमा उनले कार्यसम्पादनका लागि आलोचनाको सामना गर्नुपरेको र बुढ्यौलीका स्पष्ट संकेत देखाउँदै ८१ वर्षीय राष्ट्रपतिले निर्वाचनको सम्भावित परिदृश्यलाई स्विकार्दै ५९ वर्षकी उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतीय नेतृत्वको प्रतिस्पर्धा हस्तान्तरण गरेका छन् । यसले ७८ वर्षीय रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई नयाँ प्रतिद्वन्द्वीका तुलनामा बढी उमेरको देखाएको छ ।

अमेरिकाले निर्वाचित अधिकारीका लागि उमेर सीमा नतोकेको भए पनि तोक्नुपर्ने आवश्यकता भने देखिन्छ । उदाहरणका लागि अमेरिकी विदेश सेवाका अधिकारीले ६५ वर्षको उमेरमा अवकाश लिनुपर्छ भने र सेनाले वरिष्ठ अधिकारीलाई ६४ वर्षको उमेरमा अवकाश लिन आवश्यक बनाएको छ । यद्यपि उच्च दर्जाका जनरलले राष्ट्रपतिले अनुमोदन गरेमा आफ्नो सेवानिवृत्तिको उमेरलाई ६८ वर्षसम्म पुर्याउन सक्छन् । यी उमेर सीमाले राष्ट्रको सेना र हतियारका प्रभारीले पूर्ण संज्ञानात्मक र शारीरिक क्षमता कायम राख्छन् भन्ने सुनिश्चित गर्छ । बाइडेनको राष्ट्रपतीय बहसमा उनको कमजोरी देखिएको थियो । यस्तै कमजोरी वा त्रुटिलाई उमेरहदले सम्बोधन गर्छ ।

पक्कै पनि यी मापदण्ड सबैभन्दा शक्तिशाली पदमा भएकाका लागि थप कडा हुनुपर्छ भनेर तर्क गर्न सकिन्छ । यद्यपि न त राष्ट्रपति, न राष्ट्रपति पद ग्रहण गर्न सक्ने अधिकारी उदाहरणका लागि उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख वा सिनेटका निमित्त राष्ट्रपतिका लागि उमेर हद लागू हुन्छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र सेना रहेको मुलुकमा निर्वाचित अधिकारीमध्ये करिब एकतिहाइ शीर्ष सैन्य नेता तोकिएभन्दा बढी उमेरका छन् । यसमा सय अमेरिकी सिनेटरमध्ये ३५ र चार सय ३५ सदन सदस्यमध्ये ९१ जना पर्छन् । अमेरिकी सर्वोच्च अदालतमा पनि ७० वर्ष वा सोभन्दा माथिका तीनजना न्यायाधीश छन्, जबकि पाँच सय ठुला कम्पनीका २८ प्रमुख कार्यकारी अधिकृत मात्र ७० वर्ष वा माथिका उमेरका छन् ।

ज्येष्ठ नेतालाई जिम्मेवारी सम्हाल्न दिनुको साझा औचित्यका रूपमा यी नेताको व्यापक अनुभवलाई लिइन्छ । यद्यपि यो लाभ शारीरिक स्वास्थ्य समस्या र संज्ञानात्मक ह्रास जस्ता उमेरसँग सम्बन्धित जोखिमविरुद्ध सन्तुलित हुनुपर्छ । उसो त वृद्ध व्यक्तिले जानकारी संश्लेषण र फराकिलो परिदृश्य देख्ने क्षमता उत्कृष्ट हुन सक्छ, तथापि यी क्षमता प्रभावकारी रूपमा ७० वा ८० को उमेरमा भएका मानिसमा रहिरहन्छ भन्न सकिँदैन ।

बढ्दो उमेरका कारण निर्वाचित नेतृत्वले बढी उमेर भएका मतदातालाई मात्र प्रतिबिम्बित गर्छ भन्ने अर्को तर्क पनि गरिन्छ । सन् २०२२ मा लगभग ३० प्रतिशत अमेरिकी मतदाता ६५ वर्षभन्दा माथिका थिए र यो तथ्यांक हेर्दा हाम्रो लोकतन्त्रले राम्रोसँग काम गरिरहेको छ भन्न सकिन्छ । तर, तथ्यांकले निर्वाचित अधिकारीको उमेर र तिनका मतदाताको उमेरबीच कुनै स्पष्ट सम्बन्ध देखाएको छैन । सबैभन्दा ज्येष्ठ निर्वाचित अधिकारी सबैभन्दा ज्येष्ठ मतदाता भएका राज्यबाट आएका छैनन् ।

सिनेटर डियान फेन्सटाइनलाई उदाहरणका रूपमा लिन सकिन्छ । स्वास्थ्य कमजोर भए पनि उनी वर्षौंसम्म पदमा रहेकी थिइन् र ९० वर्षको उमेरमा निधन हुनुभन्दा केही समयअघि मात्रै उनले अवकाश लिएकी थिइन् । उनको राज्य क्यालिफोर्नियामा ६५ वा सोभन्दा बढी उमेरका मतदाता सबैभन्दा कम छन् । ६५ वर्षभन्दा माथिका मतदाताको सबैभन्दा सानो अनुपात भएका दश राज्यमध्ये सातवटामा कम्तीमा एकजना ७० वर्षभन्दा माथिका सिनेटर छन् । अमेरिकामा ज्येष्ठ नेता बढी हुनुको सम्भावित कारण नियम अद्यावधिक भएका छैनन् । सर्वोच्च अदालतका न्यायाधीशका लागि कुनै उमेर प्रतिबन्ध छैन र अमेरिकी संविधानले राष्ट्रपति, सिनेटर र जनप्रतिनिधि हुनका लागि न्यूनतम उमेर क्रमशः ३५, ३० र २५ तय गरेको छ ।

संघीय निर्वाचित अधिकारीका लागि अनिवार्य सेवानिवृत्ति उमेरको अभाव कुनै एक समयमा आधारित थियो, जब मानिस सामान्यतया डिमेन्सिया (विस्मृति) जस्ता अवस्थाको सामना गर्ने वा हृदयाघात वा गम्भीर चोटपटकजस्ता प्रमुख स्वास्थ्य समस्या झेल्ने उमेर नै बाँच्दैनथे । हाम्रा पूर्वजका लागि वृद्धावस्थासम्बन्धी चिन्ता खासै सान्दर्भिक थिएन । यद्यपि संविधानको मस्यौदा तयार भएयता पाँच वर्ष नाघेकाहरूको औसत आयु २० वर्षभन्दा बढीले बढेको छ ।

निर्वाचित पदाधिकारी बुढेसकालसम्म पदमा बस्नु स्वस्थ लोकतन्त्रको लक्षण होइन । फ्रिडम हाउसका अनुसार ज्येष्ठ नेताले प्रायः कम लोकतान्त्रिक देशमा शासन गर्छन् । अमेरिकामा विशेषतः सिनेटमा पदाधिकारीले महत्वपूर्ण चुनावी लाभ लिन्छन् । फेन्सटाइन र बाइडेन उल्लेख गरिएका सन्दर्भले पदासिन ज्येष्ठ नेतालाई हटाउन प्रभावकारी संयन्त्रको अभावलाई जोड दिन्छ ।

गत वर्षको एक सर्वेक्षणअनुसार ७९ प्रतिशत अमेरिकी वासिंटनमा निर्वाचित अधिकारीका लागि अधिकतम उमेर तय गर्नुपर्नेमा समर्थन गरेका छन् र ७४ प्रतिशतले सर्वोच्च अदालतका न्यायाधीशका लागि यस्तै सीमा तोकिनुपर्ने बताएका छन् । करिब आधा अमेरिकी ५० वर्ष हाराहारीका नेता राष्ट्रपति चयन भएको देख्न चाहन्छन् । ज्येष्ठ नागरिकले ज्येष्ठ राष्ट्रपतिलाई मन पराउने प्रवृत्ति भए पनि ७० वर्ष वा सोभन्दा माथिको उमेरका पाँच प्रतिशतले मात्र आफ्नो उमेरको राष्ट्रपति चाहन्छन् ।

केही किस्साअनुसार अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिंटनले बाल्यकालमा चेरीको रुख काटेका थिए र यो घटनालाई उनले ढाकछोप गरेका थिएनन् । उनै वासिंटनले तेस्रो कार्यकाल नरोज्ने निर्णय गरे, जबकि उनले मज्जैले चुनाव जित्न सक्थे । तर, नरोज्नुका पछाडि उनलाई आफ्नो पद त्याग्ने समय आएको विश्वास थियो ।

(न्यान्सी नर्थवेस्टर्न विश्वविद्यालयकी अर्थशास्त्रकी प्राध्यापक हुन्) 
प्रोजेक्ट सिन्डिकेट

सुझावित समाचार