काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजले स्वास्थ्य सेवा व्यवस्थापन (हेल्थ केयर म्यानेजमेन्ट) मा स्नातकोत्तर तहको अध्यापन सुरु गरेको छ। कलेजले एक कार्यक्रम गरी हेल्थ केयर म्यानेजमेन्टमा स्नातकोत्तर तहको पढाइ सुरु गरिएको घोषणा गरेको हो।
पोखरा विश्वविद्यालयबाट स्वीकृति लिएर स्वास्थ्य सेवा व्यवस्थापन विषयमा स्नातकोत्तर तह सुरु गरिएको कलेजका सह प्राचार्य गणेश बुढाथोकीले बताए। कलेजले सोही विषयमा स्नातक तह पढाइरहेको र विद्यार्थीको माग बमोजिम तह थप गरिएको उनको भनाइ छ।
सेन्ट्रल कलेजका प्राचार्य पारस खड्काले अहिले अस्पताल व्यवस्थापकलगायत स्वास्थ्य सेवाको क्षेत्रमा व्यवस्थापकीय जनशक्तिको माग बढेकोले आफूहरूले स्नातकोत्तर तह पनि सञ्चालनमा ल्याएको प्रस्ट पारे। निजी अस्पतालले व्यवस्थापनका लागि हेल्थ केयर म्यानेजमेन्ट पढेका दक्ष जनशक्ति राख्दै आएकोमा सरकारी अस्पतालमा पनि माग बढ्दै गएकोले दक्ष जनशक्ति आपूर्ति गर्न आफूहरूले यो विषयलाई महत्त्व दिएको उनले बताएका छन् ।
मास्टर्स इन हेल्थ केयर म्यानेजमेन्टको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका पोखरा विश्वविद्यालयका डिन प्रा.डा. दयाराज ढकालले स्वास्थ्य सेवा व्यवस्थापन कार्यका लागि आवश्यक दक्ष जनशक्ति अभाव भइरहेको अवस्थामा सेन्ट्रल कलेजको पढाइले दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा उनले स्वास्थ्य सेवा व्यवस्थापन विषयको स्कोपबारे विद्यार्थीहरूलाई प्रशिक्षितसमेत गरेका थिए। अस्पतालका सेवासुविधा र गुणस्तर वृद्धि गरी सेवाग्राहीमैत्री अस्पताल सञ्चालनमा दक्ष व्यवस्थापक उत्पादन गर्न सेन्ट्रल कलेजलाई उनले सफलताको शुभकामनासमेत दिएका छन् ।
सो अवसरमा विभिन्न प्रतिष्ठित अस्पतालका सञ्चालकहरूले हेल्थ केयर म्यानेजमेन्टको पढाइले दक्ष जनशक्ति प्राप्ति र युवालाई स्वदेशमै खपत गरिराख्न सकिने विश्वास व्यक्त गर्दै स्नातकोत्तर तह शुभारम्भको अवसरमा कलेज र विद्यार्थी वर्गलाई सफलताको शुभकामना प्रदान गरेका थिए ।
उच्च शिक्षामा आफूलाई अब्बल साबित गर्दै आएको सेन्ट्रल कलेजमा स्नातक तहमा भने स्वास्थ्य सेवा व्यवस्थापन (बिएचसिएम) होटेल व्यवस्थापन (बिएचएम) र व्यवसाय प्रशासन (बिबिए) का कक्षाहरू सञ्चालन हुँदै आएका छन्। विद्यालय तहसमेत सञ्चालन गरिरहेको यो शैक्षिक संस्था दशकौँदेखि शिक्षा सेवामा समर्पित रहँदै आएको छ ।