दृश्य १ : मन्दिरनजिकै एकजना बालक खानाको खोजीमा हुन्छ । अशक्त बालक हिँड्न सक्दैन, भने धेरै दिनदेखि आफू भोको रहेको भन्दै खानेकुरा मागिरहेको हुन्छ । तर, उसलाई बेवास्ता गर्दै धेरै भक्तजनहरू मन्दिरमा गएर भगवानसँग प्रार्थना गर्छन् । पैसासहित प्रसाद अपर्ण गर्छन् । मन्दिरका पुजारीले सबैलाई सम्मान गर्न र सहयोगी बन्न मन्दिर आउनेलाई आशीर्वाद दिन्छन् । स्वयं मन्दिरबाट फर्किँदा उक्त अशक्त बालकप्रति पुजारीको पनि व्यवहार उस्तै हुन्छ । नजिक हुन पनि घिन माग्छन् । खानाको खोजिमा संघर्ष गर्दागर्दै बालकले आफ्नो परान गुमाउँछन्।
दृश्य २ : सबै साथीहरू स्कुल जाँदा बौद्धिक अपांगता भएकी एक किशोरी स्कुल जान पाउँदिनन् । स्कुल गएकी उनलाई प्रधानाध्यापकले नै शारीरिक अवस्थाको कारण पढाउन नसक्ने भन्दै स्कुल नआउन आदेश दिएका हुन्छन् । तर, एक दिन समावेशी शिक्षा परियोजनाका मानिसहरू सो विद्यालयमा पुग्छन् । आफूहरूले विद्यालयलाई चाहिने सहयोग गर्ने र सबैलाई पढ्न पाउनुपर्ने मौलिक अधिकार भएको कुरा सुनाउँछन् । त्यसपछि प्रधानाध्यापक आफ्नो गल्तीमा पछुतो मान्छन् । ती विद्यार्थीलाई विद्यालय ल्याउन उनकै घर पुग्छन् । बौद्धिक अपांगता भए पनि स्कुल पढ्न पाउने कुराले किशोरी र किशोरीको परिवारमा खुसी ल्याउँछ ।
दृश्य ३ : एक बालको दाहिने हात हुँदैन। एउटा हात नभएकै कारण उसलाई साथीहरूले हेप्छन् । सँगै खेल्नबाट रोक्छन्। उसको साथी पुतली (खेलौना) पनि साथीहरूले बिगारिदिन्छन् । शारीरिक रूपमा कमजोर किशोरलाई उसका साथीहरूले अनावश्य दोष र गल्तीहरू पनि देखाउँछन्। तर, ऊ त्यसको प्रतिकार गर्न सक्दैन ।
हाम्रो गाउँघरमा देखिने र प्राथमिकतामा नराखिएको विषयलाई समेटेर भरतपुरको एक होटेलमा शुक्रबार विद्यार्थीहरूले विद्यालय तथा समुदायमा बालबालिकाहरूविरुद्ध हुने बालहिंसा तथा भेदभावविरुद्धको सचेतनासम्बन्धी फरक फरक नाटकको दृश्य हो यो । क्रमशः शिवजी मन्दिर, स्कुल समूह र पुललीको समूह नाम दिएको समूहले नाटकमा देखाएको दृश्यले सबैलाई भावुक बनाएको थियो ।
अटिजम केयर चितवन सोसाइटीमार्फत सञ्चालन गरिएको अपांगता समावेशी विकासका लागि समावेशी शिक्षा परियोजनामार्फत चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका १२ विद्यालयका २४ विद्यार्थीहरूलाई छनोट गरेर सञ्चालन भएको पाँचदिने नाट्य कार्यशाला सञ्चालन गरेको थियो । कार्यशालमा सहभागी विद्यार्थीहरू स्वयंले यो नाटक आफैँ तयार पारेका थिए।
समावेशी शिक्षा परियोजनाका संयोजक सुमन पाैडेलले समुदायमा बुझ्न र बुझाउन सहज हुने हिसाबले विद्यार्थीहरूलाई नाटकमार्फत समावेशी शिक्षाबारे जानकारी गराएको बताए। उनका अनुसार अपांगताकै कारण कसैले पनि आफ्नो मौलिक हक हनन नहोस् भनेर समुदायमा जानकारी गराउन नाटक फलदायी हुने उनको विश्वास छ । नाटकमा सहभागी विद्यार्थीहरूले विद्यालयको बाल क्लबमा छलफल गरेर थप सचेतना सन्देश प्रवाह गर्नेछन् ।
उनीहरूले पाँच दिनमा तयार पारेको नाटकले समाजको यथार्थ चित्र चित्रण गरेको देखिन्छ । उनीहरूले बालक्लबमार्फत यस विषयमा थप सचेतना थप्न सक्छन्,’ उनले भने। परियोजनाले चितवनका १४७ विद्यालयमा अपांगताको क्षेत्रमा काम गरिरहेको छ । विद्यालयलाई अपांगतामैत्री बनाउनदेखि अपांगता पहिचानमा यो परियोजना सक्रिय छ । परियोजनाले बालबालिकाको कार्यगत सीमिततालाई प्रमाणित गर्न स्वास्थ्य शिविर, कार्यशाला गोष्ठी, गुनासो सुन्ने र पढाउने शिक्षकलाई तालिम, समाजका विभिन्न व्यक्तिहरूसँग अन्तर्क्रियालगायतका कार्यक्रम नियमित गर्दै आएको छ ।
अपांगता भएका बालबालिकालाई लक्षित गरेर चितवनका दुई स्थानीय तह भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा अपांगता समावेशी विकासका लागि समावेशी शिक्षा परियोजना सञ्चालनमा छ। दुई वर्षदेखि १७ वर्षसम्मका बालबालिकासँग काम गर्ने उद्देश्यले परियोजनाले शिक्षाको क्षेत्रमा अपांगता भएका बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । अटिजम केयर चितवन सोसाइटीमार्फत सञ्चालित परियोजनालाई हेन्डिक्याप इन्टरनेसनल र युके एडले सहयोग गरिरहेको छ।