साफ यू–२० फुटबल : घरमै उपाधि जित्ने नेपालको लक्ष्य

पहिलो दुई संस्करणको उपाधि नेपालले जित्दा त्यसपछि तीनैपटक भारत च्याम्पियन बनेको छ

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण
साफ यू–२० फुटबल : घरमै उपाधि जित्ने नेपालको लक्ष्य

साफ यू–२० च्याम्पियनसिपको ट्रफीसहित सहभागी ६ टोलीका कप्तान । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नेपालको युवा टिमले दक्षिण एसियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुने यू–२० च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य बनाएको छ । प्रतियोगिताको छैटौँ संस्करण आजबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना हुँदै छ । नेपालले उद्घाटन खेलमा श्रीलंकासँग खेल्दै प्रतियोगिता सुरु गर्नेछ । 

प्रशिक्षक उर्जन श्रेष्ठ र कप्तान कुशल देउवा यसपटक टोली अनुभवी रहेको बताउँदै उपाधि जित्ने दाबी गर्छन् । ‘करिब दुई महिनाको तयारी राम्रो भएको छ । हाम्रो लक्ष्य च्याम्पियन हुने हो,’ नेपालको यू–१८ टिमबाट खेलिसकेका मिडफिल्डर कुशलले भने, ‘गत वर्ष टिमको तालमेल राम्रो थिएन । यसपटक टिम अनुभवी पनि छ । यू–१७ टिमबाट लगातार खेल्दै आएको छौँ । जुनसुकै अवस्थामा पनि दबाब नियन्त्रणमा राख्न सक्छौँ ।’

प्रतियोगिता पाँचपटक भइसकेको छ । नेपालले पहिलो दुई उपाधि जितेको थियो । पहिलो संस्करण यू–१९, दोस्रो यू–१८ हुँदै अहिले प्रतियोगिता यू–२० आधारमा आयोजना भएको छ । नेपालले सुरुका दुई उपाधि उचाल्दा त्यसपछिका तीनै उपाधि भारतले जितेको हो । 

प्रशिक्षक श्रेष्ठ ४५ दिनको अभ्यास राम्रो भएको र प्रतियोगिता एन्फा कम्प्लेक्समै हुँदा फाइदा पुग्ने बताउँछन् । ‘प्रतियोगिताका लागि हामीले एन्फा कम्प्लेक्समा ४५ दिनको अभ्यास गरेका छौँ । प्रतियोगिता नै यहीँ हुँदा हामीलाई धेरै फाइदा हुनेछ,’ श्रेष्ठले भने, ‘खेलाडी पनि यही मैदानमा अभ्यस्त भएका छन् । हामी उपाधि फर्काउन खेल्नेछौंँ ।’

प्रतियोगितामा साफबाट पाकिस्तानबाहेक घरेलु टोली नेपाल, साबिक विजेता भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेश र भुटानको सहभागिता रहेको छ । नेपालको समूहमा श्रीलंका र बंगलादेश छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगितामा सहभागी ६ देशकै प्रशिक्षकले उपाधि जित्ने योजना सुनाएका छन् । 

कुशलको कप्तानीमा अनुभवी नेपाली टिम
नेपाली टिमको कप्तानी मिडफिल्डर कुशल देउवाले गर्नेछन् । यो टिममा यू–१७ र यू–१८ उमेर समूहबाट खेलिसकेका एक दर्जनभन्दा बढी खेलाडी छन् । समीर तामाङले भने राष्ट्रिय टिमबाटै डेब्यु गरिसकेका छन् । त्यसैले पनि टोली निकै सन्तुलित देखिन्छ । ‘गत वर्ष खेलेका अधिकांश खेलाडी अहिले पनि टोलीमा छन् । नयाँ खेलाडी पनि राम्रा छन् । 

अधिकांशले सहिद स्मारक ए डिभिजन लिग र एनएसएल खेलेकाले पनि टिम बलियो देखिन्छ,’ प्रशिक्षक श्रेष्ठ भन्छन् । टोलीमा रहेका गोलकिपर जियारथ शेख, रक्षकहरू आश्विन घोरासैनी, सीमान्त थापा, निन्साङ लिम्बू, मिडफिल्डरमा कप्तान कुशलसँगै लक्षु थापा तथा स्ट्राइकर नीराजन धामी, रोहन खड्गी, समीर तामाङ र अविनाश स्याङ्ताङले यसअघि नै नेपालको उमेरसमूहबाट खेलिसकेका छन् ।

सहभागी ६ टोलीकै प्रशिक्षकको उपाधि जित्ने दाबी

घरेलु मैदानमा उपाधि जित्छौँ : उर्जन श्रेष्ठ, प्रशिक्षक, नेपाल
हामीले एन्फा कम्प्लेक्समै ४५ दिन अभ्यास गर्न पायौँ । त्यसैले तयारी राम्रो भएको छ । दशरथ रंगशालामा खेल नहुँदा हामीलाई झनै फाइदा भयो । घाँसे मैदानमा अभ्यास नहुँदा हामीलाई गाह्रो हुन सक्थ्यो । गत वर्ष खेलेका ११ खेलाडी अहिले पनि टोलीमा छन् । नयाँ खेलाडी पनि राम्रा छन् । अधिकांशले सहिद स्मारक ए डिभिजन लिग र एनएसएल खेलेका छन् । खेलाडीको क्षमताअनुसार रणनीति बनाउनेछौँ । सकेसम्म हामी पेनाल्टीमा नजाँदै खेल जित्न खेल्छौँ । हाम्रा लागि घरेलु दर्शक १२औँ खेलाडी हुन् । उहाँअरू आउने र टिमलाई हौसला बढाउनेमा विश्वस्त छौँ । घरमै उपाधि जित्न खेल्छौँ । 

उपाधि रक्षा गर्न खेल्छौँ : रञ्जन चौधरी, प्रशिक्षक, भारत 
दुई महिनादेखि तयार गरिरहेका छौँ । खेलाडी छनोटपछि एक महिना गोवामा तयारी भयो । केही मैत्रीपूर्ण खेल पनि खेल्यौँ । पहिलो खेल जुनसुकै प्रतियोगितामा पनि महत्वपूर्ण हुन्छ । हामी साबिक विजेतासमेत हौँ । गत वर्षका खेलाडी पनि टोलीमा छन् । अहिले साफमा केन्द्रित हुन्छौँ । उपाधि रक्षा गर्न खेल्छौंँ । यही टिमले एसियन कप छनोट पनि खेल्नेछ । 

फाइनल पुग्दै उपाधि जित्न खेल्छौँ  : देभसागयम राजमनी, प्रशिक्षक, श्रीलंका 
हामीले कडा मिहिनेत गरेका छौँ । पाएको समयमा सुधार पनि धेरै भएको छ । हामी प्रतियोगिताका लागि तयार छौँ । तालमेल राम्रो छ । हामी विपक्षीसँग डराएका छैनौँ । राजनीति कारणले एफए निलम्बनमा प¥यो । तर, पनि खेलाडीले अभ्यास गर्न पाएका छन् । टिम राम्रो छ । लक्ष्य फाइनल पुग्दै उपाधि जित्नेछ । 

कीर्तिमानी प्रदर्शन गर्छौँ : हिदेहारु ताकाहासी, प्रशिक्षक, भुटान
हामीले यो प्रतियोगिताका लागि राम्रो तयारी गरका छौँ । खेलाडीहरू राम्रो गर्नमा विश्वस्त छु । शारीरिक तथा मानसिक रूपमा पनि खेलाडी छन् । आउन चुनौतीको सामना गर्छाैँ । हामी प्रतियोगितामा सहभागी हुन मात्रै आएका होइनौँ । भुटानका लागि कीर्तिमान बनाउन चाहन्छौँ । एएफसी च्यालेन्ज लिगमा पनि पारोले राम्रो नतिजा हासिल गरेको छ । अहिले हाम्रो टोलीमा एकेडेमीबाट खेलिरहेका १२ जना छन् । पर्याप्त समय नभएको पनि तयारी राम्रो भएको छ । प्रतियोगितामा भारत राम्रो छ । हामी सबै टोलीसँग खैल्न तयार छौँ । 

सहभागी मात्रै हुन आएका होइनौँ  : अहमेद साकिर, प्रशिक्षक, माल्दिभ्स 
हामी एक महिनादेखि नियमित प्रशिक्षण गरिहेका छौँ । खेलाडीले धेरै राम्रो सुधार गरेका छन् । मिहिनेत पनि उस्तै गरेका छन् । आत्माविश्वास धेरै छ । खेलाडीको तयारबाट म खुसी छ । प्रतियोगितामा हाम्रो लक्ष्य फाइनल खेल्ने हो । गत वर्ष खेलेका १२ खेलाडी टिममा छन्, त्यसैले पनि सहभागी मात्र हुन आएका छैनौँ । प्रतियोगितामा भारत सबैभन्दा बलियो टिम देखिन्छ । 

टिमको तयारी राम्रो भएको छ : मारुफुल हक, प्रशिक्षक, बंगलादेश
यो प्रतियोगितामा खेल्ने अधिकांश खेलाडी भविष्यका स्टार हुन् । हामाीले सोहीअनुसार तयारी पनि राम्रो गरेका छौँ । दुई सातादेखि तयारी भएको छ । गत वर्ष फाइनल खेलेका छौँ । यसपटक पनि फाइनल पुग्ने लक्ष्य छ । त्यसैले दबाब पनि छ । हामीसँग गत वर्षका खेलाडी पनि छन् । हाम्रो तयारीमा चलिरहेको राजनीति प्रभाव कुनै वेला पनि परेन । छुट्टै तयारी गर्न पायौँ । हाम्रा धेरै खेलाडी व्यावसायिक छन् । 

सुझावित समाचार