बारीमा अलैँची छैन, मूल्यचाहिँ दोब्बर

शनिबार, १ भदौ, २०८१
डिजिटल संस्करण
बारीमा अलैँची छैन, मूल्यचाहिँ दोब्बर

गत फागुन–चैतमा पानी नपरेकाले सुक्दै गएका अलैँचीका बोट

अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई भन्छन्– अघिल्ला दुई वर्षभन्दा आर्थिक वर्ष ०८०/८१ मा ५० प्रतिशत उत्पादनमा ह्रास आएको छ । तीनवटै सरकारले अलैँची उत्पादनमा ध्यान दिएर उत्पादन गर्न किसानलाई प्रेरित गर्नुपर्ने अवस्था छ ।

‘युद्धका वेलामा बुद्धको पुराण काम लाग्दैन’ भन्ने उखान ताप्लेजुङका किसानसँग मेल खाइरहेको छ । जिल्लाभरका किसानको बारीमा अलैँची सुकेर न्यून उत्पादन भएका वेला मूल्य भने गत वर्षको भन्दा दोब्बर पुग्ने अनुमान गरिएको छ ।

भाउ दोब्बरले वृद्धि हुन लागेको खबर सुन्दा पनि अहिले अलैँची किसान खुसी छैनन्, किनभने गत फागुन–चैतमा पानी नपरेका कारण अलैँचीका बोट सुकेर न्यून उत्पादन दिने अवस्थामा छन् ।

गत वर्ष भदौ लाग्नासाथ अलैँचीको भाउ प्रतिमन (४० किलो) ५५ हजार रुपैयाँ थियो । यतिवेला व्यवसायीले प्रतिमन ८० हजार रुपैयाँ भाउ तोकेका छन् । झापामा भने ८२ हजारदेखि ८५ हजार रुपैयाँ प्रतिमन मूल्य तोकिएको छ । अलैँची व्यवसायी महासंघ, केन्द्रीय समितिका अध्यक्ष निर्मल भट्टराईले यो वर्षको भाउ एक लाख रुपैयाँ प्रतिमन नाघ्ने अनुमान गरेको बताए । 

अलैँचीको मूल्य बढे पनि उत्पादन घटेका कारण खासै सुखी नभएको मैवाखोला गाउँपालिका–३ का किसान कमल पौडेलले बताए । उनले एक लाखको बिरुवा ल्याएर बारीमा रोपेको, तर फागुन–चैतमा बर्सात नहुँदा सुकेर न्यून उत्पादन हुने अनुमान गरेको बताए । ‘चर्को मूल्यमा बिरुवा किनेर रोपियो, तर अहिले उत्पादन गतिलो हुने छाँटकाँट नहुँदा दुःख लागेको छ,’ उनले भने ।

अर्का किसान भीम गुरुङले पनि समयमा पानी नपरेकाले अलैँचीका बिरुवा मासिएको र हुर्केका बिरुवाले समेत राम्रो उत्पादन दिन नसक्ने अवस्थामा पुगेको बताए ।

‘अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्छ । त्यो समयमा पानी नपरेकाले बोट मरेका छन्,’ उनले भने, ‘पुराना बोटहरूमा समेत खासै अलैँची फलेको छैन ।’ विगतमा प्रशस्त उत्पादन दिएका बोटहरूसमेत यसपालि सुक्खाका कारण मरेको उनले बताए । ‘अलैँची टिप्ने सिजन सुरु हुनै लाग्दा राम्रो मूल्य निर्धारण भएकाले सबै खुसी छौँ, तर उत्पादन घट्ने चिन्ताले पनि सताएको छ,’ उनले भने ।

अलैँची व्यवसायी संघ, ताप्लेजुङका अध्यक्ष  भद्रवीर रेग्मीले समयमा पानी नपर्नुका साथै जुर्जुरे, स्याङ्लेलगायत रोगको संक्रमणले बोट मासिँदै गएको जानकारी दिए । 

दुई वर्षदेखि उत्पादनमा निरन्तर ह्रास
अलैँचीलाई सरकारले निर्यात हुने प्रमुख कृषिउपजमा सूचीकृत गरेर अनुदान र प्रोत्साहनका कार्यक्रम लागू गरे पनि पछिल्ला वर्षहरूमा उत्पादनमा ठूलो ह्रास आएको अलैँची व्यवसायी महासंघ, केन्द्रीय समितिका अध्यक्ष निर्मल भट्टराईले बताए । 

‘अघिल्ला दुई वर्षभन्दा आर्थिक वर्ष ०८०/८१ मा ५० प्रतिशत उत्पादनमा ह्रास आएको छ,’ उनले भने, ‘तीनवटै सरकारले अलैँची उत्पादनमा ध्यान दिएर उत्पादन गर्न किसानलाई पे्ररित गर्नुपर्ने अवस्था छ ।’ चालू आव ०८१/८२ मा समेत ३० प्रतिशतसम्म उत्पादनमा ह्रास आउने देखिएको उनले बताए ।

आव ०७९/८० मा आठ अर्ब २७ करोड ६८ लाख रुपैयाँको अलैँची निर्यात भएको महासंघले जनाएको छ । गत आवमा भने निर्यात झन् खस्केको अध्यक्ष भट्टराईले बताए । मूल्य राम्रो पाउँदा पनि उत्पादन घटेकोप्रति किसान र सरकारी निकाय चिन्तित भएर उत्पादन वृद्धिका लागि क्रियाशील हुनुपर्ने उनको भनाइ छ । हाल झापामा प्रतिमन ८२ हजारदेखि ८५ हजार रहेको मूल्य बढेर एक लाख नाघ्ने अनुमान गरिएको उनले बताए ।

See More On

सुझावित समाचार