साफ च्याम्पियनसिपको उद्घाटन खेल एन्फा कम्प्लेक्सको मैदानमा हुने

शुक्रबार, ३२ साउन, २०८१
डिजिटल संस्करण

दक्षिण एसियाली फुटबल महाससंघ (साफ) यू–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताअन्तर्गत  नेपाल र श्रीलंकाबीच हुने उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा हुने पक्का भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पठाएको म्याच कमिस्नर अब्दुल हामिद अब्दुल गफरले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालाका खेलमैदान निरीक्षण गरेपछि खेल खेल्न योग्य नभएको निष्कर्ष निकालेको हो । सोही निर्णयसँगै उक्त प्रतियोगिताका अन्य खेल दशरथ रंगशालामा हुने सम्भावना कम भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले म्याच कमिस्नरले दशरथ रंगशालाको मैदान खेल्न योग्य नभएको बताएको जानकारी दिए । उनले  यो निर्णय नै अन्तिम नहुने भन्दै म्याच कमिस्नरले साफमा खबर पठाएपछि उताबाट जे निर्णय आउँछ त्यही अन्तिम निर्णय हुने बताए । उक्त रंगशालाको निरीक्षण गर्न माल्दिभ्सका अब्दुल बिहीबार काठमाडौं आइपुगेका थिए ।  

उक्त प्रतियोगिताको खेल सुरुवातमा दशरथ रंगशालामा खेलाउने आयोजक एन्फाको तयारी थियो । तर, वर्षाका कारण दशरथ रंगशालाको अवस्था नाजुक भएपछि कहाँ खेलाउने टुंगो लाग्न सकेको थिएन । एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगिताको सुरुवाती खेल एन्फा कम्लेक्सको मैदानमा हुने भन्दै आगामी दिनमा वर्षामा सुधार भए दशरथ रंगशालामा सेमिफाइनल र फाइनल खेल गराउने सम्भावना कायमै रहेको बताए । 

यही साउन २९ गते दशरथ रंगशालामा नेपालको सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र भुटानको लिग विजेता पारो एफसीबीच एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोट खेल भएको थियो । त्यतिवेला वर्षाका कारण मैदान हिलाम्मे भएको थियो । जसका कारण दुवै टोलीले हिलाम्मे मैदानमा खेल खेलेका थिए । यसअघि पनि एएफसीले उक्त मैदानलाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न अयोग्य घोषणा गरेको थियो ।

साफ यू–२० च्यापिम्यनसिप आगामी भदौ २ गतेदेखि घरेलु मैदानमा हुँदै छ । भदौ १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहने छ । प्रतियोगिताका कतिपय टोली नेपाल आइसकेका छन् । 

सुझावित समाचार