डेंगु संक्रमणबाट पोखरामा एकजनाको मृत्यु भएको छ । पोखराको फिस्टेल अस्पतालमा ५२ वर्षकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो । बिहीबार बिहान अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा दिउँसो मृत्यु भएको अस्पतालकी सूचना अधिकारी मधु ज्ञवालीले जानकारी दिइन् । योसँगै डेंगुका कारण गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि तनहुँमा २ जनाको मृत्यु भएको थियो ।
प्रदेशका ११ मध्ये १० जिल्लामा डेंगु सक्रमण देखिएको छ । हिमाली जिल्ला मुस्ताङ भने हालसम्म डेंगुबाट सुरक्षित छ । केही दिनदेखि गण्डकीमा डेंगु संक्रमण तीव्र गतिमा बढेको छ । चार दिनमा मात्र प्रदेशका १० जिल्लामा सात सय १५ जनामा संक्रमण देखिएको छ । बिहीबारसम्म प्रदेशमा संक्रमितको संख्या दुई हजार ८४ पुगेको छ । २८ साउनमा यो संख्या एक हजार ३६९ थियो । २९ गते एक हजार ७७२ र ३० गते एक हजार ९०८ रहेकामा ३१ गते दुई हजार ८४ पुगेको हो ।
तनहुँमा सबैभन्दा धेरै ८४८ जना डेंगु संक्रमित छन् । सबैभन्दा कम मनाङमा दुईजना छन् । कास्कीमा ६८७, पर्वतमा ७५, गोरखामा ७०, बागलुङमा ६५, लमजुङमा ५५, स्याङ्जामा ४४, म्याग्दीमा ४३ र नवलपुरमा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।