उपसभामुख इन्दिरा रानाले नेपालमा कृषि, पर्यटन र जलविद्युतको अपार सम्भावना भए पनि उचित प्रयोग गर्न चुकिरहेको बताएकी छिन् । सकारात्मक सोचको विकास गर्दै देश निर्माणमा लाग्नुपर्ने उनको भनाइ छ।
नेपालीपन अरुले नक्कल गर्न थालेको र स्वयं नेपालीले भने आफ्नोपन छाड्दै गएकोमा उनले चिन्ता व्यक्त गरिन् । प्रज्ञा भवनमा बिहीबार आयोजित जनआकाश मिडियाको १७औँ वार्षिक उत्सव एवं कृपज पुस्तक विमोचन कार्यक्रममा रानाले बाल्यकालदेखि नै सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिइन ।
व्यवहारिक शिक्षाको आवश्यकता पनि उनले औल्याइन । आफुले बाल्यकालमा पढ्न नपाएका कारण बालकालिकाको शिक्षाको लागि काम गरेको स्मरण गर्दै उनले स्थानीय तह बालबालिकाप्रति संवेदनशील बन्ने हो भने कोही पनि सडक बालबालिका बन्नु नपर्ने दाबी गरिन् ।
'सरकार बालबालिकाप्रति संवेदनशील हुनुपर्छ । प्रत्येक पालिकाले बालबालिकालाई संरक्षण दिने हो भने कुनै पनि बालबालिका सडकमा आउँदैनन्,’ उनले भनिन् । कार्यक्रममा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो ।