साफ यू–२० च्याम्पियनसिप सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार प्रतियोगिता दशरथ रंगशालाबाट सातदोबाटो सारिएको जानकारी दिएको हो।
एएफसी च्यालेन्ज कपको प्लेअफअन्तर्गत चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीचको खेलमा मैदान हिलाम्मे भएको थियो। मैदान हिलाम्मे भएपछि सर्वत्र आलोचना भएको थियो।
‘हामीले दशरथ रंगशालामा गर्ने तयारी गरेका थियौँ। मैदान नभए सातदोबाटोमा खेल हुनेछ। सेमिफाइनल र फाइनल भने दशरथ रंगशालामै हुनेछ,’ प्रवक्ता सुरेश शाहले भने।
साफ यू–२० च्याम्पियनसिप आइतबारदेखि हुँदै छ। समूह ‘ए’मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलंका तथा समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन्। प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्दै छन्।