बंगलादेशी क्रान्ति : धर्मनिरपेक्षताको पाठ

बिहिबार, ३१ साउन, २०८१
डिजिटल संस्करण

भारतका साम्प्रदायिक तत्वले बंगलादेशी हिन्दुविरुद्ध हिंसाका घटनालाई भारतका मुसलमानमाथि आक्रमण गर्ने बहाना बनाइरहेका छन् 

हजारौँ हिन्दुले मुसलमान समुदायको महत्वपूर्ण तप्काको समर्थनका साथ सुरक्षाको माग गर्दै बंगलादेशका विभिन्न ठूला–साना सहरमा विरोध प्रदर्शन गरिरहेका छन् । र, कसैले पनि आन्दोलनकारीलाई भारतीय वा अन्तर्राष्ट्रिय षड्यन्त्रका एजेन्ट वा राष्ट्रविरोधी भएको आरोप लगाएका छैनन् । बंगलादेशी पहिचानलाई दाबी गर्दै त्यहाँका हिन्दु आफूलाई तिरष्कार गर्न सकिँदैन भन्नेमा जोड दिइरहेका छन् । प्रदर्शनकारीले दुर्गापूजाका लागि पाँच दिनको बिदासहित अल्पसंख्यक अधिकारका लागि विशेष सुरक्षाको आह्वान गरिरहेका छन् । यी मागले बंगलादेश हिन्दुहरूको पनि घर हो र स्वतन्त्र रूपमा आफ्नो धर्मको अभ्यास गर्न सक्ने ठाउँ हो भन्ने देखाउँछ ।

कुनै पनि मुसलमान संगठनले हिन्दुको विरोध प्रदर्शनको विरोध गरिरहेका छैनन् । बरु विद्यार्थी र मुसलमानले सम्भावित हिंसाविरुद्ध स्पष्ट सतर्कतासाथ मन्दिर र हिन्दु क्षेत्रमा गस्ती गरिरहेका छन् । मुसलमान नेता मन्दिरमा गएर ऐक्यबद्धता व्यक्त गर्दै हिन्दु समुदायलाई समर्थन गरिरहेका छन् । ढाकामा विद्यार्थीले संसद्को सरसफाइ र ट्राफिक व्यवस्थापन गरिरहेका छन् । ५ अगस्टको अराजकताबाट लुटिएका सामान फिर्ता भइरहेका छन् । अन्तरिम सरकारका प्रमुखले हिन्दुसँग ऐक्यबद्धता देखाउन मन्दिरको भ्रमण गरेका थिए र गृह मामिला सल्लाहकारले हिन्दुलक्षित हिंसाविरुद्ध दृढ अडान लिएका छन् ।

लोकतान्त्रिक क्रान्ति : यी घटनाक्रमबारे भारतीय जनतालाई कसैले जानकारी दिएका छैनन् । भारतको सत्तारुढ दलसँग आबद्ध व्यक्तिले बंगलादेशको लोकतान्त्रिक क्रान्तिविरुद्ध घृणा फैलाएकाले त्यहाँका जनता निराश छन् । भारतको सत्तारुढ दलले क्रान्तिलाई भारतविरोधी वा हिन्दु–विरोधी षड्यन्त्रका रूपमा चित्रण गर्न खोजेको धेरैको विश्वास छ । बंगलादेशी विद्वान्हरूले भारत सरकारले आफूहरूको लोकतान्त्रिक आकांक्षालाई समर्थन गरिरहेको छैन र घनिष्ठ सम्बन्ध भएको एक निरंकुश नेताको पतनमा निराश देखिनुलाई दुर्भाग्यपूर्ण भनेर टिप्पणी गरिरहेका छन् ।

बंगलादेशी जनताले भारतमा बंगलादेशमा हिन्दुविरुद्ध नरसंहारको झुटो दाबी गर्ने नक्कली भिडियोलाई नियालिरहेका छन् । र, नक्कली भए पनि यी भिडियो व्यापक रूपमा सेयर भइरहेका छन् । भारतको पहिलो आधिकारिक प्रतिक्रिया लोकतान्त्रिक क्रान्तिलाई समर्थनभन्दा बंगलादेशमा हिन्दु र अल्पसंख्यकको सुरक्षामा बढी केन्द्रित थियो र यसलाई बंगलादेशी जनताले सम्झिरहेका छन् । बंगलादेशी पत्रपत्रिकाअनुसार भारतले बंगलादेशमा भारतीय विशेषतः हिन्दुको सुरक्षा गर्न एक अर्धसैनिक बल गठन गरेको छ र यसलाई बंगलादेशीले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेपका रूपमा हेरेका छन् । बंगलादेशी जनता यो बलले कसरी काम गर्छ भनेर प्रश्न गरिरहेका छन् ।

भारतका विदेशमन्त्रीले संसद्मा बंगलादेशका विद्यार्थी र अन्यले हिन्दु र अल्पसंख्यकको संरक्षण गरिरहेको स्विकारेका छन् । त्यसो भए भारतमा लोकतान्त्रिक क्रान्तिविरुद्ध घृणित प्रोपगान्डा किन फैलाइँदै छ ? उत्तर प्रदेशका मुख्यमन्त्रीले बंगलादेशमा भएका घटनालाई सनातन धर्ममाथिको आक्रमणसमेत भनेका छन् । भारत सरकारले भनेजस्तै बंगलादेशका जनताले अल्पसंख्यक र हिन्दुलाई समर्थन गरिरहेका छन् भने भारतमा किन यस्तो आक्रोश ? हिन्दुविरुद्धको हिंसा बंगलादेश क्रान्तिको परिभाषित पक्ष हो कि होइन भनेर मूल्यांकन गर्नु आवश्यक छ । यदि होइन भने प्रतिक्रियाहरू समायोजित हुनुपर्छ । वा, सत्यको पर्वाह नगरी केही समूह हिन्दुमाझ असुरक्षा जगाउन कुनै पनि कसर बाँकी नराख्न हकदार हुन् र ? 

साम्प्रदायिक तत्व : शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अराजकता मच्चिएको सत्य हो । धेरै ठाउँमा अराजक गुन्डाहरूले सडक कब्जा गरेका छन् । जताततै लुटपाट, आगजनी र हिंसाका घटना घटेका छन् । पूर्वसत्तारुढ दल अबामी लिग र संगठनका मानिसमाथि आक्रमण भएको थियो । विभिन्न मन्दिर आक्रमणको तारो बने । र, हिन्दुका घर एवं पसललाई पनि निसाना बनाइयो ।

राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को विस्तारित सञ्जालजस्तै बंगलादेशमा पनि साम्प्रदायिक तत्व छन् भनेर बुझ्न आवश्यक छ । हामीले सन् १९४७ मा अराजकताबीच आरएसएसले भारतमा मुसलमानलाई भाग्न बाध्य बनाउने अवस्था सिर्जना गरेको थियो भन्ने सम्झिनुपर्छ । यो योजना धेरै हदसम्म असफल भयो, किनभने त्यसवेला सतर्क धर्मनिरपेक्ष शक्तिले पहलकदमी लिँदै परिस्थितिलाई नियन्त्रणमा लिएका थिए । कुनै पनि समाजमा ठूलो उद्देश्यको आडमा संकीर्ण राष्ट्रवादी लक्ष्य पछ्याउने शक्ति हुन्छन् । र, बंगलादेशमा पनि यो हुन सक्छ, अर्थात् राज्य कमजोर हुँदा र कट्टरपन्थी तत्व देखा पर्दा चरमपन्थी सक्रिय हुनु अस्वाभाविक होइन ।

धर्मनिरपेक्षतावादी जनतामाझ एकता आवश्यक : बंगलादेशको अन्तरिम सरकारका नेता, मन्त्री, विद्यार्थी नेता सबैले साम्प्रदायिक हिंसालाई दृढतासाथ निन्दा गर्दै छन् र क्रान्ति सबैका लागि हो भनिरहेका छन् । अर्थात्, मुसलमान र हिन्दुलाई समान अधिकारसहितको क्रान्तिमा जोड दिइरहेका छन् । कुनै पनि सरकारी अख्तियारीबाट आन्दोलनकारी हिन्दुविरुद्ध घृणा ओकलिएको छैन वा प्रदर्शनकारीलाई क्रान्तिलाई कमजोर वा बदनाम गर्ने ‘अराष्ट्रिय तत्व’को बिल्ला भिराइएको छैन । 

मुहम्मद युनुसले पदभार ग्रहणलगत्तै साम्प्रदायिक हिंसाविरुद्ध सख्त भएर बोलेका छन् । जब कि भारतको सत्तारुढ दलका कुनै नेताले भारतको साम्प्रदायिक अशान्तिका मामिलामा एक शब्द बोलेका छैनन् । सबैभन्दा खराब के रह्यो भन्दा भारतका साम्प्रदायिक तत्वले बंगलादेशमा हिन्दुविरुद्ध हिंसाका घटनालाई भारतका मुसलमानमाथि आक्रमण गर्ने बहानाका रूपमा प्रयोग गरिरहेका छन् ।

वर्तमान अवस्थाले दक्षिण एसियाभरका धर्मनिरपेक्ष जनताबीच एकताको आवश्यकतालाई जोड दिन्छ । बंगलादेशको लोकतान्त्रिक क्रान्तिले यस क्षेत्रका लागि नयाँ लोकतान्त्रिक ढाँचा विकास गर्न ढाकामा दक्षिण एसिया सम्मेलन आयोजना गर्ने अवसर प्रदान गरेको छ । यसका लागि ‘दक्षिण एसियाका लोकतान्त्रिक एवं धर्मनिरपेक्ष जनता एकताबद्ध हौँ’ भन्ने नारा उपयुक्त हुन सक्छ ।

(अपूर्वानन्द दिल्ली विश्वविद्यालयमा हिन्दी अध्यापन गर्छन्) फ्रन्टलाइनबाट 

सुझावित समाचार