तीन लाख ५० हजार रुपैयाँ ठगी
तालिमबाट भागेका एक प्रहरी जवानलाई पुनर्वहाली गराउने भन्दै ठगी गरेको आरोपमा दुईजनालाई पक्राउ गरी प्रहरीले मुद्दा दायर गरेको छ । इलामका भक्तबहादुर लिम्बू र सर्लाहीका मधुसुदन झालाई पक्राउ गरी लिखत किर्ते मुद्दा दायर भएको हो ।
प्रहरीको प्राविधिक जवान पदमा भर्ना भएका सर्लाही ईश्वरपुरका निवास चौधरीलाई पुनर्वहाली गरिदिने भन्दै उनीहरूले तीन लाख ५० हजार रुपैयाँ ठगी गरेका हुन् । विश्वासमा पार्न उनीहरूले प्रहरी महानिरीक्षकको सचिवालयकै पत्र किर्ते गरी देखाएका थिए ।
सचिवालयबाट चौधरीलाई तालिम गराउन भनेर लेखिएको किर्ते पत्र दिनुका साथै महानगरीय प्रहरी शिक्षालयबाट नियुक्तिसम्बन्धी पत्र बनाएर ठगी गरेको प्रहरीले जनाएको छ । ०७८ सालमा जवानमा भर्ना भएका चौधरीलाई दुई वर्षपछि तालिमबाटै भागेपछि प्रहरीले बर्खास्त गरेको थियो ।