सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। ५३ सदस्यीय प्रदेश सभामा शाहले ३६ मत पाएका हुन्।

विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ। मुख्यमन्त्रीको विपक्षमा आठ मत पर्दा एक मत तटस्थ रहेको छ। सत्तापक्षमा नेपाली कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात गरी ३६ सांसद छन्। 

कांग्रेस संसदीय दलका नेता शाह कांग्रेस र एमालेको समर्थनमा गत २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनु संवैधानिक व्यवस्था छ।

केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै अल्पमतमा परेका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि शाह दोस्रोपटक मुख्यमन्त्री बनेका थिए। उनले यसअघि कांग्रेस–माओवादी गठबन्धन हुँदा करिब १४ महिना सरकारको नेतृत्व गरेका थिए।

सुझावित समाचार