ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन स्वास्थ्य मन्त्रालयअन्तर्गतको संघ, प्रदेश र स्थानीय तह विषयगत समितिको सदस्य मनोनीत भएका छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उनलाई संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, ०७७ बमोजिम विषयगत समितिमा नियुक्त गरेका हुन् ।
मन्त्री पौडेलको सचिवालयका अनुसार समितिले स्वास्थ्य क्षेत्रको योजना तथा कानुन तर्जुमाका लागि तीनवटै तहसँग परामर्श र समन्वय गर्नेछ । ऐनले हालसम्म पूर्णता नपाएको र लामो समयदेखि बैठक बस्न सकेको छैन ।
महर्जनको मनोनयसँगै उक्त समितिको बैठक आगामी ६ भदौमा बस्ने गरी तोकिएको छ । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारको विषय संघको मात्र नभएकाले सबै तहसँग समन्वय गरेर आफूले अघि सारेका कार्ययोजना लागू गराउन पहल थालेको र यसैका लागि बैठकसमेत डाकिएको बताए ।