बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

बुधबार, ३० साउन, २०८१
डिजिटल संस्करण

सूर्योदय सहकारीको चार करोड हिनामिना प्रकरण 

सहकारीको रकम हिनामिना प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एमालेबाट निर्वाचित अध्यक्ष कुँवर स्याङ्जाको बाडखोलामा मुख्य कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था, बिरुवा सेवा केन्द्रका पूर्वसचिव हुन् । 

गाउँपालिकाका प्रवक्ता कृष्णबहादुर क्षेत्रीका अनुसार अध्यक्ष कुँवर २३ साउनदेखि कार्यालय गएका छैनन् । ‘अध्यक्षज्यू बुधबार कार्यालय आउनुभएको थियो, कार्यालयको कामले काठमाडौंमा विभिन्न मन्त्रालयमा जानुपर्ने भएको भन्दै उपाध्यक्ष भगवती शर्मालाई कार्यवाहकको जिम्मा दिएर जानुभएको हो, त्यसपछि आउनुभएको छैन,’ उनले भने । प्रहरीले जिल्ला अदालतबाट मंगलबार अध्यक्ष कुँवर, सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक तारेन्द्रबहादुर केसी र मुक्तिनाथ विकास बैंक बिरुवा गाउँपालिका शाखाका कर्मचारी सन्ध्या भण्डारीविरुद्ध पक्राउ पुर्जी लिएको थियो । केसी र भण्डारी पक्राउ परिसकेका छन् । कुँवर भने फरार छन् । उनीहरूलाई पक्राउ नगरे मुद्दासँग सम्बद्ध प्रमाण लोप, नाश गर्न सक्ने र भागी जाने सम्भावना देखिएको प्रहरीले सोमबार स्याङ्जा जिल्ला अदालतसँग अनुमति माग गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठका अनुसार सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा कास्कीबाट कारबाही प्रक्रिया अगाडि बढाउन भनी ९ साउनको पत्र र सहकारीका बतचकर्ता ध्रुवनारायण श्रेष्ठले बचत रकम नपाएको र रकम हिनामिना भएको भन्दै १० साउनमा प्रहरीमा उजुरी दिएपछि अनुसन्धान थालिएको हो । प्रहरीले सूर्योदय सहकारीको बिरुवा सेवा केन्द्रका तत्कालीन सेवा केन्द्र प्रमुख जीवन वाग्लेलाई ११ साउनमा पक्राउ गरिसकेको छ । प्रहरीले सूर्याेदयको निक्षेपकर्तालाई उजुरी दिन २० साउनसम्मको समय दिएको थियो । 

See More On

सुझावित समाचार