संखुवासभाको खाँदबारी नगरपालिका- ५ रमितेमा आठ घर पहिरोको उच्च जोखिममा परेका छन्। गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र पहिरो भएको ठाउँमा दुईवटा ठूला ढुंगा रहेकाले पहिरोसँगै सो ढुंगा खस्ने खतरा बढेको छ।
स्थानीय रामबहादुर गुरुङले लगातार वर्षा भइरहेकाले पहिरो जुनसुकै समयमा खस्न सक्ने खतरा रहेको बताए। उनले पहिरोका कारण रातमा निन्द्रा नलाग्ने गरेको गुनासो गर्दै स्थानीय सरकारले ढुंगा हटाउन सहयोग गर्नुपर्ने बताए।
रमिते गाउँमा कोसी राजमार्गको गगनेदेखि मोटर बाटो लगिएको छ। एकान्तमा रहेको रमिते गाउँभन्दा माथि देउरालीबाट सडक गाउँसम्म पुर्याइएको छ। गाउँमाथिबाट ट्र्याक खोलिएको र गाउँमाथि नै प्याराग्लाइडिङ उडानका लागि मैदान बनाइएको माटो धस्सिएर पहिरोको खतरा बढेको स्थानीयहरू बताउँछन्।
केही वर्षअघिदेखि गाउँ पहिरोको जोखिममा छ। बर्खाको समयमा सडक चिरा परी जमिन धस्सिनुका साथै ढुंगा पल्टिएर घरहरू किच्ने खतरा बढेको स्थानीय रामबहादुर गुरुङ बताउँछन्। गत वर्ष खाँदबारी नगरपालिकाको आर्थिक सहयोगमा केही रोकथाम गर्ने प्रयास गरी तारजाली लगाइएको थियो।
गाउँमा पहिरोको जोखिम बढेको खबर पाएपछि खाँदबारी नगरपालिकाका उपमेयर महेश्वर श्रेष्ठ बज्राचार्य, खाँदबारी- ५ का वडाध्यक्ष टंकबहादुर घिमिरे, वडासदस्य टीकाराम गुरुङ र खाँदबारी- ४ का कार्यबाहक वडाध्यक्ष पवित्रा गुरुङलगायतले स्थलगत अवलोकन गरेका छन्। पहिरो अवलोकनपछि उपमेयर बज्राचार्यले नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम विनियोजन गरी तारजालीसहित ढुंगा फुटाउने आश्वासन दिए।