विदेशनीति मित्रतामा नभई राष्ट्रिय स्वार्थमा निर्भर हुन्छ

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

मित्रतालाई घरेलु राजनीति र सामाजिक परिप्रेक्ष्यमा मूल्यवान् मानिए पनि मित्रता विदेशनीतिको लक्ष्य हासिल गर्न अवरोधक पनि बन्न सक्छ

गत साता बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्युत हुँदै भागेर आएपछि भारतमा आफ्ना साझेदारलाई समर्थन गर्नुपर्छ भन्ने विश्वास बलियो देखिन्छ । यसका दुइटा पक्ष छन् । पहिलो, हसिनालाई मानवीय कार्यका रूपमा शरण दिने र दोस्रो, बंगलादेशमा व्यवस्था पुनस्र्थापित गर्न हस्तक्षेप गर्नुपर्छ भन्ने विचार हुन् । मानवीय दृष्टिकोणअनुसार मित्रतापूर्ण नेतालाई सहयोग गर्ने आवश्यकतामा जोड दिनुपर्छ भन्ने छ । र, हस्तक्षेपवादी दृष्टिकोणअनुसार क्षेत्रको प्रमुख शक्ति एवं एक महत्वाकांक्षी विश्वव्यापी नेताका रूपमा छिमेकी देशमा भारत समर्थक नेतालाई सत्ताबाट हटाउँदा भारतले पहलकदमी लिनुपर्छ भन्ने छ । यसो गर्न सकिएन भने यसले भारतको छविलाई बिगार्ने धारणा व्याप्त छ ।

विशेषतः हाम्रो वर्तमान क्षेत्रीय परिप्रेक्ष्यमा भारतलाई महाशक्तिका रूपमा सोच्नु अवास्तविक हुनेछ । मानवीय तर्क केही हदसम्म मिले पनि बंगलादेशसँग चलिरहेको समस्यालाई सम्बोधन गर्न यो तर्क अपर्याप्त छ । यसबाहेक हामीले भारतप्रति मित्रवत् सम्बन्ध भएका नेतालाई समर्थन गर्नुपर्छ भन्ने दुवै तर्कको पछाडिको मूल धारणा त्रुटिपूर्ण छ । तसर्थ मित्रताको मूल्य र विदेशनीतिमा मित्रविरुद्ध शत्रुताको दृष्टिकोणबारे हामीले लामो समयदेखि निर्माण गरेको बुझाइको पुनःमूल्यांकन गर्नु आवश्यक छ ।

प्रतिद्वन्द्वी राज्यले प्रायः व्यक्तिगत वैमनस्यको साटो परस्पर विरोधी स्वार्थका कारण एक–अर्काको विदेशनीतिमा बाधा पुर्याउँछन् । कहिलेकाहीँ यदि आफ्नो स्वार्थ मिल्ने हो भने प्रतिद्वन्द्वी राज्यले साझेदारी गर्न सक्छन् । त्यसैगरी मित्रराष्ट्रले एक–अर्काको लक्ष्यमा पारस्परिक लाभ देख्दा परराष्ट्र नीतिमा एक–अर्कालाई सहयोग गर्छन् । यद्यपि यी मुलुकबीचको स्वार्थमा फरक पर्यो भने कहिलेकाहीँ एक–अर्कालाई समर्थन नहुन पनि सक्छ । राज्यबीचको साझेदारी मुख्यतया मित्रता वा शत्रुताको साटो साझा स्वार्थबाट सञ्चालित हुन्छन् । जबकि मित्रताले विश्वासको जग बनाउन सक्छ, तथापि विश्वास मूलतः साझा चासोमा निर्भर हुन्छ ।

राज्यबीच साझा चासो, साझा खतरा र दुवै राज्य सहमत प्राथमिकतामार्फत मित्रता कायम हुने गर्छ, तर मित्रताले मात्र भने उल्लिखित सम्बन्ध सिर्जना गर्दैन । स्पष्ट होस्, आफूलाई घनिष्ठ सहयोगी ठान्ने राज्यले मुख्य रूपमा आफ्नो राष्ट्रिय स्वार्थलाई नै पछ्याइरहेका हुन्छन् । उदाहरणका लागि अमेरिका र भारत मूल रूपमा मित्र होइनन्, तर यी दुवै मुलुकका महत्वपूर्ण पारस्परिक स्वार्थ छन् । त्यसैगरी, जापान र भारतले मित्रताका कारण मात्र नभई साझा स्वार्थ र साझा खतराका कारण सहकार्य गरिरहेका छन् ।

परराष्ट्र नीतिका उद्देश्य हासिल गर्नमा मित्रताको उपयोगिताका कैयौँ सीमितता छन् । पहिलो, मित्रराष्ट्रले एक–अर्काका लागि आफ्नो स्वार्थविरुद्ध काम गर्दैनन् । दोस्रो, अर्को देशका केही राजनीतिक नेतालाई मित्रवत् र अरूलाई मित्रहीन भनेर तोक्दा त्यहाँका ती राजनीतिक नेताका विपक्षीले तपाईंलाई विरोधीका रूपमा हेर्न सक्छन् । तेस्रो, मित्रता बोझ पनि बन्न सक्छ, किनभने साझेदारले तपाईंलाई तपाईंको राष्ट्रिय स्वार्थलाई प्रतिकूल हुने कार्य गर्न दबाब दिन सक्छन् । तसर्थ, मित्रतालाई घरेलु राजनीति र सामाजिक परिप्रेक्ष्यमा मूल्यवान् मानिए पनि मित्रता विदेशनीतिका लक्ष्य हासिल गर्न अवरोधक पनि बन्न सक्छ ।

मित्रराष्ट्र वा नेता हुनु उपयोगी भए पनि निर्णयकर्ताले मित्रताभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ । यी स्वार्थ पछ्याउनु भनेको मित्रता त्याग्नु हो भने त्यसो पनि गर्नुपर्छ । आखिर मित्रता भनेकै हाम्रा चासो पूरा गर्न बनेका न हुन् ।

अमेरिका र युरोपबीचको ‘ट्रान्सएट्लान्टिक’ सम्बन्धलाई प्रायः मित्रताका रूपमा वर्णन गरिन्छ, तर यो मूलतः आपसी स्वार्थद्वारा सञ्चालित छ । अमेरिका अमेरिकाको नेतृत्वमा विश्व व्यवस्था कायम राख्न युरोपमा निर्भर छ भने युरोप सुरक्षाका लागि अमेरिकामा निर्भर छ । उसो त यी मुलुकमाझ साझा धार्मिक र सांस्कृतिक सम्बन्ध पनि छन् । तर, यसले मात्रै बलियो साझेदारी सुनिश्चित गर्दैन । यसलाई पश्चिम एसिया वा हाम्रा जस्ता क्षेत्रको भूराजनीतिले पनि स्पष्ट पार्छ ।

सन् २००० को प्रारम्भमा अमेरिका र भारतले मित्रताको चाहनाको सट्टा बलियो पारस्परिक स्वार्थद्वारा सञ्चालित आफ्नो सम्बन्धलाई स्थिर बनाउन थालेका थिए । अस्ट्रेलिया र भारतले एक–अर्कालाई मित्र भने पनि यी सम्बन्ध मूलतः साझा स्वार्थमा आधारित छन् । आपसी स्वार्थ जति बलियो हुन्छ, राज्यबीचको मित्रता त्यति नै बलियो हुन्छ ।

हसिना पदच्युत भएपछि बंगलादेशप्रति भारतको नीति कस्तो हुनुपर्छ ? पहिलो, भारतले मित्रविरुद्ध शत्रुको मानसिकतामा फस्नुको सट्टा आफ्नो स्वार्थलाई प्राथमिकता दिनुपर्छ । अवैध आप्रवासन, बंगलादेशमा अल्पसंख्यकको सुरक्षा, सीमावर्ती भारतीय राज्यमा सुरक्षा, भारतीय व्यापारिक हित र चीनको प्रभाव भारतका प्रमुख स्वार्थ हुन् । यी कारकलाई ध्यानमा राख्दै नयाँदिल्लीले ढाकाको सत्तामा रहेका जोकोहीसँग पनि स्थिर सम्बन्धको पारस्परिक लाभलाई जोड दिनुपर्छ । हसिनालाई शरण दिनु मानवीय कार्य हो, तर उनलाई भारतबाट राजनीतिक गतिविधिमा संलग्न हुन दिनुले भारतको स्वार्थलाई क्षति पुर्याउन सक्छ, किनभने अन्तर्राष्ट्रिय सम्बन्धमा राज्यभन्दा बढी प्राथमिकता व्यक्तिका लागि हुन सक्दैन ।

यही तर्क भारतका अन्य छिमेकी राष्ट्रसँगको सम्बन्धमा पनि लागू हुन्छ । हामी अब शासन परिवर्तन वा हस्तक्षेपको युगमा छैनौँ । तसर्थ, भारतले व्यक्तिगत सम्बन्ध विकास गर्नुभन्दा आफ्नो स्वार्थ पूरा गर्नमा ध्यान दिनुपर्छ । मित्रताका विपरीत स्वार्थ विभिन्न शासनमा हस्तान्तरण गर्नयोग्य हुन्छन् र यो निकै कम जटिलतासाथ सम्भव हुन्छ ।

(ज्याकोब जवाहरलाल नेहरू विश्वविद्यालयका विदेशनीतिका सह–प्राध्यापक हुन् र उनी काउन्सिल फर स्ट्राटेजिक एन्ड डिफेन्स रिसर्चका संस्थापक हुन्) 
हिन्दुस्तान टाइम्सबाट

सुझावित समाचार