खाद्य र कृषि संगठनका अनुसार दिगो भोकमरी उन्मूलनका लागि वार्षिक २२६ बिलियन डलर आवश्यक छ, जुन विश्वव्यापी जिडिपीको एउटा सानो अंश हो
यो कठोर वास्तविकता हो कि संयुक्त राज्य अमेरिकाजत्तिकै सम्पन्न राष्ट्रमा जोखिममा रहेका बालबालिका र ज्येष्ठ नागरिकसहित चार करोड ४० लाखभन्दा बढी मानिस दैनिक खाद्य असुरक्षासँग जुधिरहेका छन् । तर, यो समस्या कुनै एक राष्ट्रको सीमामा मात्र सीमित छैन । विश्वव्यापी रूपमा द्वन्द्व, जलवायु परिवर्तन र विश्वव्यापी महामारीले खाद्यान्न पहुँचको अत्यावश्यकतामा परेकाहरूको संख्या विगत सात वर्षमा आठ करोडबाट आश्चर्यजनक रूपमा ३५ करोड पुगेको छ ।
बारम्बारका भोकाहरूले आज आफ्नै राष्ट्र बनाए भने यो संसारको तेस्रो ठूलो राष्ट्र हुनेछ । यो एउटा बिम्ब मात्र होइन, यो त यस विशाल संकटको कठोर प्रतिनिधित्व हो ।
विडम्बनाको कुरा के छ भने विश्वव्यापी रूपमा हामीले पर्याप्त खाद्यान्न उत्पादन गर्छौं, तर पनि न्यायोचित वितरणमा असफल छौँ । यो विशाल विश्वव्यापी गलत व्यवस्थापनले विश्वभर खाद्यान्नका लागि तत्काल आवश्यकताभन्दा बढी खतरा निम्त्याउँछ । यसले भू–राजनीतिक अस्थिरता ल्याउँछ, अभाव बढाउँछ र सामूहिक आप्रवासनलाई निम्त्याउँछ ।
आधा खुवाइ र आधा भोको ग्रहमा हामीले विश्व शान्ति र प्रगति हासिल गर्न सक्दैनौँ ।
भोक मेटाउन छोटो अवधिमा राहत प्रदान गर्ने प्रभावकारी तरिका र नयाँ उत्पादन प्रणाली, पौष्टिक खाना र सफा पानी उपलब्ध गराउन वितरण विधिसहित हामीले चुनौतीसँग लड्न आवश्यक पर्ने उपकरण र समाधानका उपाय उपलब्ध छन् । चरणबद्ध ढंगले पहिले नै पहल भइसकेको छ । तर, हामी सामूहिक रूपमा धेरै राम्रो गर्न सक्छौँ । भोकमरी अन्त्यका लागि हामीले अझ राम्रो गर्नुपर्छ ।
भोकसँग मेरो आफ्नै व्यक्तिगत भेट बाल्यकालमा सुरु भयो, जहाँ सधैँ खानाको कुनै टुंगो थिएन । दयालु कार्यसँगै जीवनमा एउटा टर्निङ पोइन्ट आयो– एक अपरिचित व्यक्तिले थ्यांक्स गिभिङ मिल (कृतज्ञता र धन्यवाद व्यक्त गर्न भोजमा परिवार र साथीहरूलाई बोलाउने) वितरणसँगै मेरो जीवनमा नयाँ मोड आयो । यस कार्यले मलाई भोकसँग लड्ने जीवनभरको संकल्प जगायो ।
भोक र यसका अन्तर्निहित कारकसँग लड्ने मेरो बहुदशक यात्रा आश्चर्यजनक र निराशाजनक दुवै बनेको छ । यदि अभिप्रेरित छ भने मानिसको दैनिक उदारता राम्रो कार्यका लागि एउटो शक्तिशाली शक्ति होे ।
विगत एक दशकमा मैले धेरै अवसरमा महामारीअघि र पछि अमेरिकी पूरक पोषण सहायता कार्यक्रम (एसएनएपी) जस्ता अत्यावश्यक भोकमरी राहत कार्यक्रममा कटौती भएको देखेको छु । दुवैले मलाई महान् कार्य र महत्वपूर्ण प्रश्नको जवाफका लागि मेरो खोजीतर्फ डोर्याउँछ, पर्याप्त खाना उत्पादन गर्न सक्षम संसारमा किन यति धेरै मानिस अझै भोकसँग लडिरहेका छन् ?
मैले के निष्कर्ष निकालेको छु भने समाधान केवल खाद्य प्रावधानभन्दा बाहिर छ, यो हाम्रो विश्वव्यापी दृष्टिकोण र दिगो पोषणका लागि विधि रूपान्तरण गर्नेबारे हो । यसले गरिब जनसंख्या र हाम्रो ग्रहलाई बोझ नपारी खाद्यान्न आपूर्ति गर्ने रणनीति पुनर्विचार गर्ने विषयलाई समेट्छ । जोन एफ केनेडीले एकपटक भनेका थिए, ‘भोकविरुद्धको युद्ध साँच्चै मानवजातिको मुक्तिको युद्ध हो ।’
आर्थिक पक्ष चुनौतीपूर्ण भए पनि व्यवस्थित छ । खाद्य र कृषि संगठनका अनुसार दिगो भोकमरी उन्मूलनका लागि वार्षिक रूपमा २२६ अर्ब डलर आवश्यक छ, जुन विश्वव्यापी जिडिपीको एउटा सानो अंश हो । यो लाखौँको कल्याण र हाम्रो विश्वव्यापी समुदायको स्थिरताका लागि सम्भाव्य लगानी हो ।
भोकविरुद्धको यो लडाइँले गैरसरकारी संस्था, सरकार र सचेत नागरिकको प्रयासलाई जोडेर एकीकृत मोर्चाको माग गर्छ । यो हाम्रो स्रोत, आविष्कार र सामूहिक इच्छाको उपयोग गर्नेबारे हो, जसले अधिशेष र आवश्यकताबीचको विद्यमान खाडल कम गर्छ ।
जब हामी रणनीति र गठबन्धन बनाउँछौँ, व्यक्तिगत कार्य शक्ति महत्वपूर्ण रहन्छ । एक व्यक्तिको प्रयासले यो प्रस्ट चुनौतीपूर्ण विषयलाई प्रभाव पार्न सक्छ, जुन इतिहासले बारम्बार देखाएको छ । ४० वर्षपहिले केवल दुई परिवारलाई खाना दिन थाल्दा मैले सोचेको थिइनँ कि अब म अमेरिकामा यति धेरै परिवारलाई सफलतापूर्वक खाना पुर्याउन सक्षम हुनेछु ।
विश्वव्यापी भोकमरीका विविध चुनौतीको सामना गर्न ठूलो दिमाग र नवीन दृष्टिकोण आवश्यक छ । यसमा अविकसित क्षेत्रमा बाली उत्पादन सुधार गर्न कृषि प्रविधिमा लगानी, बढी भएर फालिने खानाको मात्रा घटाउन राम्रो खाद्य भण्डारण र ढुवानी विधि सिर्जना गर्ने तथा विश्वलाई दिगो रूपमा खुवाउन आवश्यक स्रोतहरूको उचित वितरण सुनिश्चित गर्ने नीति लागू गर्ने समावेश छ ।
यसबाहेक, यो भोकको मुख्य कारणलाई सम्बोधन गर्न आवश्यक छ, जुन प्रायः राजनीतिक अस्थिरता, आर्थिक असमानता र सामाजिक अन्यायमा हुन्छ । दिगो परिवर्तन सिर्जना गर्न यी अन्तर्निहित मुद्दालाई सम्बोधन गर्दै पूर्ण समाधान गर्नुपर्छ । यसबाहेक भोकको प्रभाव खाद्यान्नको तत्काल अभावसम्म फैलिन्छ । यसले बालबालिकाको सिक्ने क्षमता, कामदारको उत्पादकत्व र समुदायको समग्र स्वास्थ्यलाई असर गर्छ ।
भोकलाई सम्बोधन गर्नु भनेको खाना उपलब्ध गराउनु मात्र होइन, यो एक स्वस्थ, अधिक उत्पादनशील समाजका लागि आधारशिला तय गर्नु पनि हो ।
जब हामी यस चौबाटोमा उभिन्छौँ, चुनौती भनेको भोकाहरूलाई खुवाउने मात्र होइन, बरु हाम्रो पृथ्वी र यसका स्रोतसाधनलाई सम्मान गर्ने तरिका पनि हो । कृषि र खाद्य वितरणमा दिगो अभ्यास भावी पुस्ताहरूको भलाइका लागि महत्वपूर्ण छन् ।
म यस संकटलाई सम्बोधन गर्ने र अन्ततः समाधान गर्ने हाम्रो सामूहिक क्षमतामा विश्वास गर्छु । यो विश्वास मेरा व्यक्तिगत अनुभव र मैले सामना गरेको लचिलोपन र उदारताका असंख्य कथाबाट उत्पन्न भएको हो । यो मानव करुणा र चतुरताको शक्तिको प्रमाण हो ।
साथै, हामी विश्वव्यापी भोकको पाठ्यक्रम परिवर्तन गर्न सक्छौँ र कुनै पनि व्यक्ति जुनसुकै स्थानमा रहे पनि उसले अर्को पौष्टिक भोजनको अनिश्चितताको सामना गर्दैन भन्ने सुनिश्चित गर्न सक्छौँ ।
रोबिन्स उद्यमी तथा न्युयोर्क टाइम्सका लेखक हुन् ।
–टाइम म्यागेजिनबाट