मुग्लिन–पोखरा सडक विस्तार कार्यअन्तर्गत पश्चिम खण्डमा निर्माणाधीन १३ पुलमध्ये पाँच पुलको निर्माणकार्य सम्पन्न भएको छ। पश्चिम खण्डमा रहेको ३८.८८ किलाेमिटर सडकअन्तर्गत उक्त पुल निर्माण गरिएका हुन्। पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलका अनुसार आठ पुलमा गाडी गुड्ने संरचनाको निर्माण भइसकेको छ।
उनका अनुसार गत वर्ष नौ प्रतिशत भौतिक प्रगतिमा सीमित रहेको यस खण्डमा अहिले २८ प्रतिशत प्रगति पुगेको छ। उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष निर्माणकार्यले गति लिएको छ।’ यस खण्डमा चार र ६ लेनको सडक निर्माण गरिनेछ। सडकको बीचभागबाट दायाँबायाँ २५–२५ मिटर दूरी कायम गरी सडक विस्तार कार्य गरिएको छ। त्यसअनुरूप दुई लेनमा २० किलाेमिटर सडक कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ।
पश्चिम खण्ड विस्तारका लागि ०७८ भदौमा सम्झौता गरिएको थियो। यो खण्डको काम ०८१ भदौसम्म सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ। सम्झौता अवधि सकिन अब एक महिना मात्रै बाँकी छ। निर्माणकार्य ढिलो गरी सुरु गरिएको र कोरोनाका कारण निर्माण कार्य प्रभावित हुँदा सोचेअनुरूप प्रगति हासिल गर्न नसकिएको इन्जिनियर पौडेलले बताए। उनका अनुसार यस खण्डमा निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइकाइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ। सडक निर्माणमा एसियाली विकास बैंकको ऋण सहयोग रहेको छ। यस खण्डका लागि रु. सात अर्ब ४० करोड ४६ लाख रकम रहेको छ।
वर्षायामको अवधिभर कालोपत्र कार्य रोकी नाला, पर्खाल निर्माणलगायत कार्यलाई प्राथमिकता दिइएको छ। उनले भने, ‘विद्युतका खम्बा र खानेपानीका पाइप हटाउन समस्या भएका कारण सडक विस्तारका कार्य प्रभावित हुने गरेको छ।’