भरतपुरस्थित अंकुरम् एकेडेमीमा सञ्चालित ‘अंकुरम् नमुना संयुक्त राष्ट्रसंघ’को सम्मेलन सम्पन्न भएको छ। शुक्रबारदेखि अंकुरम् एकेडेमीमा सुरु भएको नमुना संयुक्त राष्ट्रसंघको अभ्यास आइतबार पाँच प्रस्ताव पारित गर्दै समापन भएको हो ।अंकुरम् एकेडेमीका प्राचार्य एवं कार्यक्रमका सल्लाहकार सुमन पौडेलका अनुसार विद्यार्थीले संयुक्त राष्ट्रसंघका ६ अंगमध्ये पाँचवटा अंग युएनएससी, युएनइपी, युएनएचआरसी, युनिसेफ डब्लुएचओको प्रतिनिधित्व गरेका थिए । अभ्यास कार्यक्रममा चितवनसहित मकवानपुर, नवलपरासीसहितका विभिन्न जिल्लाका दुई सय ८१ जना विद्यार्थी प्रतिनिधिको सहभागिता रहेको थियो ।
अभ्यास गरिएका संयुक्त राष्ट्रसंघका पाँचवटा अंगमध्ये प्रत्येक अंगमा ४५ जना विद्यार्थीको प्रतिनिधित्व रहेको थियो भने प्रत्येक अंगका प्रतिनिधिले विभिन्न देशको प्रतिनिधित्व गर्ने गरी अध्ययन, अनुसन्धान र बहस गरेका थिए । उनीहरूले विश्वव्यापी समस्याबारे आफूहरूले गरेको अनुसन्धानका आधारमा सामूहिक छलफलमार्फत समाधानसमेत सुझाएका हुन् ।
कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिका– १० का वडाध्यक्ष एवं महानगरपालिका सामाजिक विकास संयोजक परमेश्वर खनालले गरेका थिए । अभ्यास कार्यक्रम चितवनमा पहिलोसमेत भएको बताइएको छ । एकेडेमीका मावि तह प्रमुख अर्जुनजी शर्माका अनुसार यति काठमाडौैं उपत्यकाबाहिर पनि ठूलो संख्यामा सहभागी भई आयोजना भएको यो पहिलो अभ्यास हो ।
विद्यालयका प्राचार्य पौडेलले ‘एएमयुएन’ विशाल मञ्च भएको र यस मञ्चमार्फत सहभागीले कूटनीतिक सीपको विकास गरी आफ्नो प्रतिभा प्रस्फुटित गर्ने अवसर पाएको बताए । उनले भने, ‘विद्यार्थीका लागि यो एउटा विशाल मञ्च बन्यो, जहाँ सहभागीले आफूभित्रको प्रतिभा प्रदर्शन गरी विश्वव्यापी समस्याको जानकारी लिने, त्यसको कारण पत्ता लगाई समाधानसमेत सुझाउन सके ।’ मञ्च र ‘मास’मा बोल्न हिचकिचाउने विद्यार्थीका लागि पनि कार्यक्रम निकै उपयोगी भयो ।
कार्यक्रमका महासचिव सहप्राचार्य ओमराज मैनालीले भविष्यको नेतृत्व उत्पादन गर्न सहयोग गर्ने यो कार्यक्रममार्फत सहभागीले सामाजिकीकरणको महत्व बोध गरेको, ‘डिबेट’ गर्ने कला सिकेको र सहभागीमा समालोचनात्मक चिन्तनको विकास भएको बताए ।
कार्यक्रममा उत्कृष्ट सहभागीलाई प्रमाणपत्र, ट्रफी र मायाको चिनो वितरण गरिएको थियो । एकेडेमीले विद्यार्थीलाई पढाइसँगै अतिरिक्त अभ्यासमा जोड्दै जाँदा सिकाइलाई थप व्यावहारिक बनाउन सकिने विश्वाससहित यस्ता कार्यक्रम गर्दै आएको छ ।