बालबालिकाको जनसंख्या घट्ने र त्यसमा पनि बालिकाको संख्यामा कमी आउने अवस्था किन आयो होला ?
यसका विभिन्न कारण हुन सक्छन् । सबैभन्दा पहिले हामीकहाँ अहिले सकेसम्म कम अर्थात् बढीमा दुई, नभए एक मात्र बच्चा जन्माउने प्रवृत्ति बढ्दै गएको देखिन्छ । बढ्दो आधुनिकतासँगै मानिसमा आर्थिक भार बढ्दै गएको छ । यस्तो अवस्थामा बढी कमाउन बढी काम गर्नुपर्छ । अझ रोजगारीका लागि विदेश नै जानुपर्ने बाध्यता पनि छ । यसले गर्दा पनि बच्चा जन्माउने उमेरका पतिपत्नी साथमा नहुने अवस्थाले गर्दा बालबालिकाको जनसंख्या घट्न सहयोग गरेको हुन सक्छ । फेरि, प्रविधिको विकासले गर्दा गर्भ रहेको कम समयमै बच्चाको लिंग पहिचान गर्न सकिने हुनाले पितृसत्तात्मक समाजको प्रभावले गर्दा सकभर कन्या भू्रणको गर्भपतन गराउने दर बढिरहेको हुनाले बालिकाको संख्या कम हुँदै गएको पनि हुन सक्छ ।
एकातिर बालबालिकाको जनसंख्या घट्दै जाने र अर्कातिर बालिकाको संख्या कम हुने अवस्थाले समाजमा कस्तो प्रभाव पार्ला ?
यसले समाजमा गम्भीर लैंगिक असन्तुलन पैदा गर्छ । काम गर्ने र राज्यलाई कर तिर्ने उमेरका मानिस कम हुने र वृद्धवृद्धाको संख्या बढी हुने असन्तुलित अवस्था आउन सक्छ । जापान, सिंगापुरजस्ता विकसित देशमा विवाहयोग्य कन्याको अभाव हुन थालेजस्तै समस्या हामीकहाँ पनि आउन सक्छ । यसले समाजको बनोटमै असर पर्न सक्छ ।
यस्तो समस्याको समाधान कसरी गर्न सकिएला त ?
योजनाबद्ध ढंगले अघि बढ्ने हो भने यसलाई सन्तुलनमा ल्याउन सकिन्छ । देशलाई कुन उमेरको जनसंख्या कुन साल या दशकमा आवश्यक पर्ने हो, त्यसको प्रस्ट योजना बनाएर सन्तान जन्माउनयोग्य दम्पतीलाई प्रोत्साहन गर्नुपर्छ । बालिकाको जन्मलाई विशेष प्रोत्साहन गर्नुपर्छ । साथै, यसका गम्भीर असरबारे समाजलाई सचेत गराउनुपर्छ ।