तुम्लिङटार विमानस्थलमा सूचना केन्द्र तथा कोसेली घर

आइतबार, २७ साउन, २०८१
डिजिटल संस्करण

संखुवासभाको एक मात्रै विमानस्थल तुम्लिङटारमा सूचना केन्द्र तथा कोसेली घर सञ्चालनमा ल्याइएको छ। खाँदबारी नगरपालिकाले तुम्लिङटार विमानस्थलमा सूचना केन्द्र तथा कोसेली घर स्थापना गरी सञ्चालनमा ल्याएको हो।

खाँदबारी– ९ तुम्लिङटारमा रहेको विमानस्थलमा जिल्लाबारे सोही केन्द्रबाट सूचना प्राप्त गर्ने र संखुवासभाका स्थानीय उत्पादनहरू त्यहीँ पाइने व्यवस्था गर्ने उद्देश्यले सूचना केन्द्र तथा कोसेली घर सञ्चालनमा ल्याइएको नगरपालिकाका मेयर महेश थपलियाले बताए। हवाईमार्गबाट संखुवासभा प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सूचना केन्द्र र कोसेली घर सञ्चालनमा ल्याएको मेयर थपलियाले बताए।

खाँदबारी नगरपालिकाले सूचना केन्द्र तथा कोसेली घर सञ्चालन गर्ने जिम्मेवारी मिस यु रिसोर्ट पार्कका सञ्चालक सञ्जय देवानले पाएका छन्। खाँदबारी नगरपालिका र मिस यु रिसोर्ट पार्कबीच आर्थिक वर्ष २०८१ साउनदेखि ०८२ असारसम्म एक वर्षका लागि सम्झौता भएको र आवश्यकताअनुसार थप हुने नगरपालिकाको भनाइ छ।

तुम्लिङटार विमानस्थलमा बुद्व एयरलाइन्सको एटिआर– ७२ सिटे जहाजले दैनिक उडान भर्दै आएको छ। कात्तिकदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बाक्लो हुने गर्दछ। विश्वको पाँचौँ अग्लो मकालु हिमाल, विश्वको होचो अरुण उपत्यका, मकालु बरुण राष्ट्रिय निकुञ्ज र गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले क्षेत्र भ्रमणका लागि पर्यटकहरू आउने गर्छन्। संखुवासभाका साथै भोजपुरका आधा भागमा मानिस तुम्लिङटार विमानस्थलबाट नै आवतजावत गर्ने गर्छन्।

सुझावित समाचार