प्रविधि उपनिवेशवादले भूमि कब्जा गर्नुको सट्टा विश्वव्यापी अर्थतन्त्र र दैनिक जीवनका महत्वपूर्ण प्रविधिमाथि नियन्त्रण गर्दै छ
सन् १८५३ मा अमेरिकी राष्ट्रपति मिलर्ड फिलमोरले कमोडोर म्याथ्यु पेरीलाई दुई सय वर्षको अलगाव अन्त्य गर्न चार युद्धपोतसहित जापान पठाएका थिए । टोकियो खाडीमा आइपुग्दा पेरीले जापानलाई व्यापारका लागि राजी नभए दुष्परिणाम व्यहोर्नुपर्ने धम्की दिए । ‘ब्ल्याक जहाज’को उन्नत प्रविधिको सामना गर्दै टोकुगावा सोगुनेटले पेरीको माग स्वीकार गरेपछि सन् १८५४ मा ‘कानागावा’ सन्धि भयो ।
प्रविधि सम्भावित रूपमा खतरा हुँदाहुँदै विद्यालय र अस्पतालका लागि पनि आवश्यक छ । विगत सय वर्षमा मानिस ऊर्जा ग्रिड, इन्टरनेट, मोबाइल फोन र एआई च्याटबटलगायत विभिन्न प्रविधिसँग जोडिएका छन् । सन् १८५३ को पेरी अभियानले कसरी प्रविधिले राज्य सैन्य सार्वभौमसत्तालाई सघाउँछ भनेर प्रकाश पारेको थियो । प्राविधिक श्रेष्ठताका कारण अमेरिका विश्वको अग्रणी सैन्य शक्ति बनेको छ । जसले ८० देशमा सात सय ५० भन्दा बढी सैन्य आधार निर्माण गरेको छ, जुन अन्य सबै राष्ट्रले संयुक्त रूपमा राखेका सैन्य आधारभन्दा तीन गुणाले बढी हो । तर, अहिले राज्यको सार्वभौमसत्ताको परिदृश्य तीव्र गतिमा परिवर्तन हुँदै छ । यद्यपि अमेरिकाले आफ्नो वित्तीय सार्वभौमसत्तालाई विश्वव्यापी सञ्चिति मुद्राका रूपमा डलरको भूमिकालाई सराहना गरे पनि चीनले अमेरिकाको आर्थिक सार्वभौमसत्तालाई दिनानुदिन चुनौती दिइरहेको छ । क्रयशक्ति समानताका आधारमा चीन अमेरिकालाई उछिन्दै सन् २०१४ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्यो । अमेरिका र युरोपियन युनियनका तुलनामा उत्पादनका मामिलामा चीन एक सय २० भन्दा बढी देशका लागि अग्रणी व्यापार साझेदार हो । दुवै महाशक्ति सेमिकन्डक्टर, एआई, सिन्थेटिक जीवविज्ञान, क्वान्टम कम्प्युटिङ र ब्लकचेनजस्ता महत्वपूर्ण प्रविधि विकास र उत्पादनमा हाबी हुन खोजिरहेका छन् । सन् २०२३ मा अमेरिकी विदेश विभागको अध्ययनअनुसार ६४ उदीयमान प्रविधिमा भएको प्रगतिको मूल्यांकन गर्दा चीनले यी क्षेत्रमध्ये ८० प्रतिशतभन्दा बढीमा नेतृत्व गरिरहेको र यसलाई अमेरिकाले नजिकबाट पछ्याएको देखिन्छ ।
अमेरिका र चीनबीचको प्राविधिक प्रतिद्वन्द्विता बढ्दै जाँदा विश्वभरका देश आ–आफ्नो प्रविधि, मापदण्ड, मूल्य र आपूर्ति शृंखला अपनाएर एक पक्षसँग पंक्तिबद्ध हुन बाध्य हुन सक्छन् । यो अवस्थाले प्राविधिक उपनिवेशवादको नयाँ रूप निम्त्याउन सक्छ, जसले सम्भावित रूपमा विश्वव्यापी परिदृश्यलाई अस्थिर बनाउनेछ । अमेरिका वा चीन दुवैले सेमिकन्डक्टर उद्योगमा प्रभुत्व जमाउन सकेका छैनन्, किनभने ताइवान सेमिकन्डक्टर उत्पादन कम्पनी (टिएसएमसी) र दक्षिण कोरियाको सामसुङ मात्र पाँच न्यानोमिटरभन्दा सानो सेमिकन्डक्टर उत्पादन गर्न सक्ने कम्पनी हुन् । यसको प्रतिक्रियामा दुवै महाशक्तिले ‘प्रविधि सार्वभौमसत्ता वृत्त’ सिर्जना गर्दै छन् ।
परम्परागत उपनिवेशवादविपरीत प्रविधि उपनिवेशवाद भूमि कब्जा गर्नुको सट्टा विश्वव्यापी अर्थतन्त्र र दैनिक जीवनका लागि महत्वपूर्ण प्रविधिमाथि नियन्त्रण गर्नमा केन्द्रित हुने गर्छ । यसका लागि अमेरिका र चीनले विश्वव्यापी आपूर्ति शृंखलाका सबैभन्दा उन्नत हिस्सालाई बढ्दो रूपमा सुदृढ गर्दै रणनीतिक अवरोधविन्दु सिर्जना गर्दै छन् । उदाहरणका लागि चीनले महत्वपूर्ण कच्चापदार्थ आपूर्ति शृंखला नियन्त्रण गर्छ । ऊ विद्युतीय सवारी साधनको शीर्ष उत्पादक हो । जब कि अमेरिकाले क्याडेन्स डिजाइन प्रणाली र सिनोप्सिसजस्ता कम्पनीमार्फत चिप–डिजाइन सफ्टवेयरमा नेतृत्व गरिरहेको छ ।
युरोप पनि प्राविधिक क्षेत्रमा महत्वपूर्ण शक्ति बन्न प्रयासरत छ । युरोपले एड्भान्स चिप निर्माणका लागि महत्वपूर्ण डच कम्पनी एसएमएललाई प्रायोजन गर्छ र एआई अनुसन्धान प्रतिभा आयात गर्छ । यसबाहेक युरोपमा धेरै स्टेम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) सम्बन्धित विद्यार्थी र कम्प्युटर वैज्ञानिक छन् । त्यसैगरी युरोपले अमेरिकाभन्दा धेरै स्टार्टअप सिर्जना गर्छ । जब अनसोर्सिङ सम्भव हुँदैन (मुलुकभित्रै सस्तो ठाउँमा उत्पादन गर्ने प्रक्रिया), तब प्रविधि सार्वभौमिक वृत्तले जबर्जस्ती अधिक सूक्ष्म माध्यम प्रदान गर्छ । गहिरो र असन्तुलित निर्भरतालाई प्रोत्साहन गरेर यी वृत्तले प्रभावकारी रूपमा मुलुकलाई प्राविधिक–आर्थिक निर्भरतातर्फ धकेल्छन् । बेलायत यो प्रवृत्तिको उदाहरण हो, अर्थात् सन् २०२० मा अमेरिकाले गुप्तचर र चिप–डिजाइन सफ्टवेयरको पहुँच बन्द गर्ने धम्की दिँदै बेलायतलाई हुवावेको फाइभजी नेटवर्कबाट हटाउन दबाब दिएको थियो । त्यसैगरी नेदरल्यान्ड्सलाई चीनलाई एएसएमएल मेसिनरी आपूर्ति रोक्न आग्रह गरिएको थियो । बदलामा चीनले ग्यालियम र जर्मेनियमजस्ता प्रमुख सामग्री निर्यातमा प्रतिबन्ध लगायो । महत्वपूर्ण प्रविधि नभएका देशले प्राविधिक उपनिवेश बन्ने अर्थात् ब्ल्याक जहाजको नियति भोग्नेछन् ।
बढ्दो भूराजनीतिक तनावबीच क्वान्टम कम्प्युटिङ, एआई, ब्लकचेन र सिन्थेटिक जीवविज्ञानजस्ता उदीयमान प्रविधिले मानव खोजलाई विस्तार गर्ने क्षमता राख्छन् । हाम्रो आगामी पुस्तक ‘द टिम अफ एट बिलियन’ले यी आविष्कारलाई केहीले अधीनमा राख्ने वा साझा समृद्धिलाई प्रवद्र्धन गर्न लोकतान्त्रिकीकरण गर्ने हो कि भनेर अन्वेषण गर्नेछ । विनाशकारी प्रविधि औपनिवेशिकतातर्फ डोर्याउनुको सट्टा यी प्रविधिले हाम्रो नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र विश्वव्यापी शासनमा सुधार गर्न सक्छन् ।
सकारात्मक भविष्य हासिल गर्न हामीलाई विश्वव्यापी सहयोगको नयाँ रूपरेखा चाहिन्छ, जसले हाम्रो अन्तरसम्बन्ध र युद्ध, महामारी र जलवायु परिवर्तनजस्ता साझा चुनौतीलाई प्रतिबिम्बित गर्छ । प्राविधिक उपनिवेशवाद विश्वव्यापी प्रभुत्वको संघर्षको अन्तिम चरण मात्र हो । हामी आफ्नो पतनको वास्तुकार बन्ने कि उज्यालो भविष्यका निर्माता ? छनोट गर्नुपर्छ । नतिजा हामीमै निर्भर गर्छ ।
(हाउजर एमेडियस क्यापिटल पार्टनर्सका सह–संस्थापक र युरोपियन इनोभेसन काउन्सिलका सदस्य हुन् भने नकिब ब्रिटिस स्ट्यान्डर्ड इन्स्टिट्युसनको डिजिटल रणनीतिक सल्लाहकार समूहका सदस्य र युनिभर्सिटी कलेज लन्डनका वरिष्ठ अनुसन्धानकर्ता हुन्) प्रोजेक्ट सिन्डिकेटबाट