पछिल्लो राजनीतिक परिवर्तनपछि अशान्त बनेको बंगलादेशमा दुई कारागारबाट कैदीहरू भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको छ।
देशको राजधानी ढाकाको उत्तरमा रहेको दुवै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको एक शृंखला भएको अधिकारीहरूको भनाइ छ।
अधिकारीहरूले शनिबार बताएअनुसार जामपुर जेलमा आक्रोशित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेपछि प्रहरी र कैदीबीच झडप भएको थियो। बिहीबार भएको झडपमा ६ जना कैदीको मृत्यु भएको वार्डन अबु फताहले जानकारी दिए।
कैदीहरूले सुरक्षाका लागि खटिएका प्रहरीलाई फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए। कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेपछि भएको झडपमा कैदीहरूको मृत्यु भएको फताहले बताए।
‘कैदीहरूको अराजक गतिविधिले हामी गोली चलाउन बाध्य भएका हौँ,’ उनले भने।
त्यसैगरी, उच्च सुरक्षासहितको कासमपुर जेलमा मंगलबार कैदीहरू भाग्ने प्रयासका कारण भएको झडपमा अन्य ६ जना कैदीको मृत्यु भएको जेलका वार्डन लुत्फर रहमानले बताए।
रहमानले कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको बताए। झडपका क्रममा उक्त जेलबाट करिब दुई सय कैदीहरू भागेको उनले उल्लेख गरे।
हसिना सरकारविरुद्ध विरोध प्रदर्शन सुरु भएदेखि बंगलादेशभरि कैदीबन्दीहरू जेलबाट भाग्ने प्रयासमा छन्।
प्रधानमन्त्री हसिनाले राजीनामा दिएको दिन सोमबार उत्तरी जिल्ला सेरपुरको जेलबाट पाँच सयभन्दा बढी कैदीहरू भागेका थिए। (रासस / एएफपी)