जापानमा सम्भावित ‘महाभूकम्प’को पूर्वतयारी गर्नुपर्ने भूगर्भविद्ले चेतावनी दिएपछि जापानका प्रधानमन्त्री फुमियो किसिदाले शुक्रबार मध्यएसियाको भ्रमण रद्द गरेका छन् । जापानको दक्षिणी क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्पका कारण बिहीबार आठजना घाइते भएपछि जापानको मौसम विज्ञान निकाय (जेएमए)ले बिहीबार परामर्श जारी गरेको हो ।
किसिदाले शुक्रबारदेखि कजाकिस्तान, उज्वेकिस्तान र मंगोलियाको भ्रमण गर्ने कार्यक्रम थियो । उनले क्षेत्रीय शिखर सम्मेलनमा पनि भाग लिने कार्यक्रम तय भएको थियो । ‘प्रधानमन्त्रीको हैसियतमा संकट व्यवस्थापनको सर्वोच्च जिम्मेवारी भएकाले मैले कम्तीमा एक हप्ता जापानमा नै रहने निर्णय गरेँ,’ उनले भने ।
किसिदाले सन् २०११ मा गएको ९ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापानको मौसम पूर्वानुमान निकायले तयार पारेको नयाँ प्रणालीअन्तर्गत पहिलो परामर्श जारी गरेपछि जनता निकै चिन्तित भएको हुन सक्ने र यस्तो अवस्थामा विदेश जानु राम्रो नहुने निष्कर्षमा पुगेको बताए । जापानको मौसम पूर्वानुमान निकायले भनेको छ, ‘नयाँ ठूलो भूकम्पको सम्भावना सामान्यभन्दा बढी छ, तर यो कुनै ठूलो भूकम्प पक्का आउने संकेत होइन ।’
दक्षिणी टापु क्युसुमा बिहीबार गएको भूकम्पका कारण ट्राफिकबत्ती र कारहरू हल्लिएका थिए र भाँडाकुँडाहरू आलमारीबाट खसेका थिए, तर कुनै गम्भीर क्षति भने भएको छैन । आगलागी तथा विपत् व्यवस्थापन निकायले भूकम्पका कारण ठूलो क्षति नपुगेको, तर केही व्यक्ति घाइते भएको जनाएको छ ।
चारवटा प्रमुख टेक्टोनिक प्लेटको टुप्पोमा रहेको १२ करोड ५० लाख जनसंख्या रहेको जापानी द्वीपसमूहमा साना–ठूला गरी हरेक वर्ष करिब एक हजार पाँच सयवटा भूकम्प आउने गरेका छन् । उन्नत भवन प्रविधि र राम्रो आपतकालीन उद्धार अभ्यासका कारण ठूला कम्पनमा पनि प्रभाव सामान्य रहनु जापानी विशेषता हो ।
सरकारले आगामी ३० वर्षमा महाभूकम्प जाने सम्भावना ७० प्रतिशत रहेको बताएको छ । यसले जापानको प्रशान्त महासागरीय तटको ठूलो भूभागलाई प्रभावित गर्न सक्ने र सबैभन्दा खराब अवस्थामा अनुमानित तीन लाख मानिसको ज्यान जोखिममा पार्न सक्ने विज्ञहरूले बताएका छन् ।