सिराहाको मिर्चैयाका युवाले बिजुलीको बक्यौता तिर्न नसकेर लाइन काटिएका व्यक्तिलाई उपयुक्त समयसीमा र सहुलियत दिन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
सामान्य उपभोक्तालाई चरम लोडसेडिङमा राखेर ठूला उद्योगीले उपभोग गरेको बिजुलीको अर्बौँ रुपैयाँ बक्यौता महसुलको विषयमा सरकार र नेपाल विद्युत् प्राधिकरणबीच विवाद चलिरहेका वेला प्राधिकरणको मिर्चैया शाखालाई बक्यौताको कारणले लाइन काटिएका व्यक्तिलाई सहुलियतको मागसहित बिहीबार ६ बुँदे ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्रमा बिजुलीको उपभोक्ता नागरिकप्रति समान व्यवहार, बिजुली बक्यौताको विषयमा गरिब, निमुखा र पहुँचवाला व्यक्तिबीच विभेदको अन्त्य, बक्यौता व्यवस्थापनमा पारदर्शिताको माग गरिएको छ। त्यस्तै, बिजुलीको बक्यौता तिर्न नसकेको कारणले लाइन काट्ने प्रक्रियामा समानता, बक्यौता रहेका सबै ग्राहकप्रति समान व्यवहार गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।
स्थानीय सचेत नागरिक तथा युवा समूहसम्बद्ध युवाहरूले लाइन काटिएका ग्राहकको तत्काल बिजुली जडानको माग गर्दै आफूहरूको माग सात दिनभित्र पूरा नगरिए थप कडा आन्दोलन र कारबाहीको कार्यक्रम तय गरिने चेतावनी दिएका छन् ।
प्राधिकरणको मिर्चैया शाखाका प्रमुख मनोज शर्माले स्थानीय युवाहरूले बुझाएको ज्ञापनपत्र माथिल्लो एकाइमा पठाइएको जानकारी दिए। ‘शाखाले त नियमानुसार मात्र गर्ने हो,’ उनले भने, ‘त्यसबाहेकका मागको विषयमा माथिल्लो कार्यकारी निकायले मात्र गर्न सक्ने भएकाले त्यतै पठाइएको छ ।’