ललितपुर महानगरपालिका नगर प्रहरीले गरेका गतिविधि समेटेर ‘तस्बिरमा नगरप्रहरी’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकको विमोचन बिहीबार पुल्चोकमा आयोजित कार्यक्रमा सहभागीहरुले एकैसाथ गरेका छन् ।
कार्यक्रममा महानगरपालिका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सक्रिय हुँदा सेवा प्रवाह परिणाममुखी भएको बताए । उनले महानगरबाट भएका निर्णय विवादरहित तवरले कार्यान्वयन गर्न नगरप्रहरीले सराहनीय काम गरेको बताए । ‘नगर प्रहरीका कारण हामीलाई काम गर्न सहज भएको छ,’ उनले भने ‘आगामी दिनमा नगर प्रहरी थप जिम्मेबार बन्दै जाने विश्वास छ ।’ कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले नगर प्रहरीलाई प्रशासनिक रुपमा थप सहयोग गरिने बताउदै विपद ब्यबस्थापनमा हातेमालो गर्न सहज भएको जानकारी दिए ।
पुस्तकमा नगर प्रहरीले कार्यसम्पादनको सिलसिलामा काम गर्दा खिचिएका तस्बिरहरु समावेश छन् । महानगरले नगरवासीका गुनासा सम्बोधन गर्न घरघरमा नगर प्रहरी खटाउदै आएको छ भने एलएमसी अलर्ट एप पनि सन्चालन गरिहरेको छ । नगर प्रहरी घरघरमा पुग्न थालेयता गुनासो आउनेक्रम बढेको र त्यसलाई सम्बोधन गर्न सहज भैरहेको नगर प्रमुख सिताराम हाछेथुले जानकारी दिए ।