सशस्त्र प्रहरी थमन विक हत्या प्रकरण : विज्ञ बोलाउन उच्च अदालतको आदेश

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

सशस्त्र प्रहरीका असइ थमन विक हत्या प्रकरण मुद्दामा उच्च अदालत जनकपुरले विज्ञ बोलाउन आदेश गरेको छ । सो मुद्दामा बुधबार सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश महेन्द्रनाथ उपाध्याय र खेमराज भट्टको इजलासले विकको शवको पोस्टमार्टम तथा घटनाको समयमा अडियो–भिडियोबारे स्पष्ट पार्ने दुईजना विज्ञलाई बोलाउन आदेश दिएको हो । मुद्दाको अर्को पेसी १८ भदौमा तोकिएको उच्च अदालतका उपरजिस्ट्रार सुशीलकुमार यादवले बताए । 

२८ मंसिर ०८० मा जिल्ला अदालत महोत्तरीले विक हत्या मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता अभिराम शर्मासहित सातजनालाई जन्मकैद सजाय सुनाएको थियो । एमाले सांसद लक्ष्मी महतो कोइरी र पवन कापडलाई भने सफाइ दिएको थियो । सोही मुद्दामा जन्मकैद सजाय पाएका शर्मासहितले समयभित्र पुनरावेदन नगरेपछि उच्च अदालतले मुद्दाको साधक सुनुवाइ सुरु गरेको छ । जन्मकैद तथा २० वर्ष वा २० वर्षभन्दा माथिको सजाय पाएको मुद्दामा साधक सुनुवाइ गर्ने कानुनी प्रवधान छ । 

विक हत्या मुद्दामा सफाइ पाएका महतो र कापडविरुद्ध नेपाल सरकारका तर्फबाट उच्च सरकारी कार्यालय जनकपुरले ९ वैशाखमा उच्च अदालतमा पुनरावेदन गरेको थियो । मुद्दामा ९ जेठमा उच्च अदालतका न्यायाधीश बलभद्र बास्तोला र नरबहादुर खड्काको संयुक्त इजलासले प्रत्यर्थी झिकाउने आदेश गरेको थियो । २० जेठमा महतो र ३१ जेठमा कापड उच्च अदालतमा हाजिर भई साधारण तारेख बसेका छन् । 

विक हत्या प्रकरणमा लोसपा नेता शर्मासँगै जलेश्वर नगरपालिकाका पूर्वमेयर शंकर शाही भनिने रामशंकर मिश्र, जलेश्वर अस्पताल विकास समितिका पूर्वअध्यक्ष सुरेश पाण्डे, प्रदीप साह माझी, सञ्जयकुमार साह, मोहन ठाकुर र धर्मेन्द्र रायलाई दोषी ठहर गर्दै जिल्ला अदालत महोत्तरीले जन्मकैदको फैसला सुनाएको थियो । उनीहरूलाई कर्तव्य ज्यान मुद्दाको ज्यानसम्बन्धी महलको १ र १३ नम्बर कसुर गरेको र सोही महलको कसुर ठहर भई जन्मकैदको फैसला गरिएको थियो । विक चढेको एम्बुलेन्समा आगजनी मुद्दामा जन्मकैद सजाय पाएका सातैजनालाई जनही ६ महिना कैद र क्षतिपूर्तिबापत दामासाहीको हिसाबले १० लाख रुपैयाँ तिर्नुपर्ने अदालतले फैसला सुनाएको थियो । जन्मकैदको सजाय पाएका शर्मा, मिश्र, पाण्डे, धमेन्द्र रायसहित उच्च अदालतमा पुनरावेदन नगरी फरार छन् । उनीहरूले पुनरावेदनको म्याद ७० दिन र थमाउने म्याद ३० दिन गरी सय दिन समाप्त भइसक्दा पनि पुनरावेदन गरेनन् । 

विक हत्या प्रकरणमा साधक बहस हुने जानकारी पाएपछि जन्मकैदको सजाय पाएका परिवारजनहरूले न्याय प्रशासन ऐन, २०७३ को दफा १० (४) बमोजिम उच्च अदालतमा निवेदन दिएका छन् । जन्मकैद सजाय पाएका शर्माका बुबा महेन्द्र शर्मा र पूर्वमेयर मिश्रका पत्नी संगीताकुमारी मिश्रले आफ्ना मान्छे निर्दोष रहेको भन्दै ९ वैशाखमा उच्च अदालतमा निवेदन दर्ता गरेका थिए । पाण्डेकी छोरी प्रियंका पाण्डे र धर्मेन्द्र रायका दाजु अरविन्दकुमार रायले १० वैशाखमा उच्च अदालतमा निवेदन दिएका छन् । सोही मुद्दामा जन्मकैदको सजाय पाएका प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरका परिवारजनले भने अदालतमा निवेदन दिएका छैनन् । 

विक हत्या मुद्दामा अभियुक्त भई फरार रहेका रमेशप्रसाद साह, सतेन्द्र चौधरी भन्ने सविन्द्र चौधरी, चन्देश्वर साह मेहत्तरी, राजु चौधरी भन्ने राजा चौधरी, देवेन्द्र चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रवीन्द्रराम चमार, रञ्जित साह, विकी साह, फुले यादव, रोहितकुमार शर्मा, ललवा भन्ने लालबाबु बिन, शम्भु साह, अनिल ठाकुर, देवेन्द्र यादव र कौशलकुमार यादवको हकमा मुद्दा जिल्ला अदालत महोत्तरीले मुल्तबी राखेको थियो । नेता कौशलकुमार यादव गत असारमै सवारी दुर्घटनामा पक्राउ परेपछि जिल्ला अदालतले थमन विक मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो । 
 

सुझावित समाचार