आर्मीविरुद्ध जावलाखेल विजयी

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यू–१८ लिग फुटबल प्रतियोगितामा बुधबार त्रिभुवन आर्मी क्लबविरुद्ध ३–१ को जित निकालेको छ । दोस्रो जितसँगै जावलाखेलले आठ खेलमा ८ अंक जोडेको छ । छैटौँ हार सामना गरेको आर्मीले समान खेलबाट ४ अंक जोडेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा जावलाखेललाई जित दिलाउन विवश दर्लामीले दुई गोल गरेका थिए । आर्मीका एक खेलाडीले आत्मघाती गोल गरेका थिए । आर्मीका लागि रोहित श्रेष्ठले एक गोल फर्काए ।

खेलको आठौँ मिनेटमा सन्दीप शर्माको आत्मघाती गोलबाट जावलाखेलले १–० को अग्रता लिएको थियो । खेलको पाँचौँ मिनेटमा विवशले जावलाखेललाई २–० को अग्रता दलिाए । खेलको २१औँ मिनेटमा आर्मीका रोहितले खेललाई २–१ को गोलअन्तरमा झारे । खेलको ७७औँ मिनेटमा विवशले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेल ३–१ ले विजयी भयो । 

मनाङको रोमाञ्चक जित
मनाङ मस्र्याङ्दी क्लबले लिगमा न्युरोड टिम (एनआरटी) विरुद्ध २–१ को जित निकालेको छ । छैटौँ जितसँगै आठ खेलमा १८ अंक जोडेको मनाङ दोस्रो स्थानमा उक्लिएको छ । लिगमा दोस्रोपटक पराजित एनआरटी समान खेलबाट १६ अंकका साथ तेस्रो स्थानमा झरेको छ । मनाङलाई जित दिलाउन दर्शन अधिकारी र सुजल डंगोलले समान एक गोल गरे । एनआरटीका लागि सन्तोष गोन्ग्बाले गोल फर्काए । 

खेलको २९औँ मिनेटमा दर्शनले मनाङलाई १–० को अग्रता दिलाए । खेलको ४२औँ मिनेटमा सन्तोषले एनआरटीलाई १–१ को बराबरीमा पुर्याए । खेलको ४७औँ मिनेटमा पुकार गोलले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै एनआरटी १० खेलाडीमा समेटियो । सुजलले खेलको ६१औँ मिनेटमा गोल गर्दै मनाङलाई २–१ को रोमाञ्चक जित दिलाए ।

सुझावित समाचार