४५ वर्षमा ४३ हेलिकोप्टर दुर्घटना : २३ दुर्घटनामा मानवीय क्षति, १०७ को निधन

सन् २०२३ मा मात्रै पाँच हेलिकोप्टर दुर्घटना, वार्षिक औसत एक दुर्घटना

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

नेपाली आकाशमा साढे चार दशकको अवधिमा ४३ हेलिकोप्टर दुर्घटना भएका छन् । यीमध्ये २३ दुर्घटनामा मानवीय क्षति भएको छ । दुर्घटनामा चालक दलका सदस्य र यात्रु गरी १०७ जनाले ज्यान गुमाएका छन् भने तीन दर्जनभन्दा धेरै घाइते भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक छ । नेपालमा मानवीय क्षति हुने गरी पहिलो हेलिकोप्टर दुर्घटना २७ डिसेम्बर १९७९ मा रसुवाको लाङटाङ क्षेत्रमा भएको थियो । अतिविशिष्ट व्यक्ति (भिभिआइपी) सवार सो हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको क्यानले जनाएको छ । ३० सेप्टेम्बर १९९७ मा थुप्तेन चोलिङमा कर्णाली एयरको हेलिकोप्टर दुर्घटना हुँदा एकजनाको मृत्यु र चारजना घाइते भएका थिए । २४ अक्टोबर १९९८ मा मूलखर्कमा तीनजनाको ज्यान जाने गरी एसियन एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको थियो ।

सन् २००० यता मात्रै ३४ हेलिकोप्टर दुर्घटनामा परेका छन्, तर सबैमा मानवीय क्षति भने भएको छैन । १२ नोभेम्बर २००१ मा राजपरिवारका सदस्यहरू चढेको फिस्टेल एयरको हेलिकोप्टर मुगुको रारा तालमा खस्दा चारजनाको निधन भएको थियो । रहस्यमय रूपमा रारामा खसेको हेलिकोप्टर अझै भेटिएको छैन । त्यस्तै, ३० सेप्टेम्बर २००२ मा ११ जनाको ज्यान जाने गरी सोलुखुम्बुमा एसियन एयरलाइन्सको हेलिकोप्टर दुर्घटना भएको थियो । २८ मे २००३ मा सिम्रिक एयर एभरेस्ट बेसक्याम्पमा दुर्घटना हुँदा दुईजना र ४ जनवरी २००५ मा एयर डाइनेस्टी रामेछापमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो । त्यस्तै, २३ सेप्टेम्बर २००६ मा ताप्लेजुङको घुन्सामा श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा २४ जनाको निधन भएको थियो । नेपाली आकाशमा सबैभन्दा धेरै मानवीय क्षति भएको हेलिकोप्टर दुर्घटना यही हो । 

१५ नोभेम्बर २००९ मा मनाङ हेलिकोप्टर रोडिकोट हुम्लामा दुर्घटना हुँदा एक इन्जिनियरको ज्यान गयो । ७ नोभेम्बर २०१० मा फिस्टेल हेलिकोप्टर आमादब्लम हिमालमा दुर्घटनामा पर्दा दुईजना, १९ जुन २०१३ मा सिमिकोटमा र ३ अगस्ट २०१४ मा सिन्धुपाल्चोकमा फिस्टेलका हेलिकोप्टर दुर्घटना हुँदा एक–एकजनाको मृत्यु भएको थियो । त्यस्तै, १२ मे २०१५ मा सिन्धुपाल्चोकको घोर्थलीमा भूकम्पपीडितका लागि राहत बोकेको अमेरिकी सेनाको ‘युएस मरिन कप्र्स’ हेलिकोप्टर दुर्घटना हुँदा आठजनाको ज्यान गएको थियो । त्यस्तै, २ जुन २०१५ मा सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन हेलिकोप्टर दुर्घटना हुँदा चारजना, ८ अगस्ट २०१६ मा फिस्टेल नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा सातजना, १४ अगस्ट २०१८ मा मनाङ एयर हुम्लाको हिल्सामा दुर्घटना हुँदा एकजना र ८ सेप्टेम्बर २०१८ मा अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । त्यस्तै, २७ फेबु्रअरी २०१९ मा ताप्लेजुङको पाथीभरामा एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना हुँदा सातजनाको ज्यान गएको थियो । दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, क्यानका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, यती ग्रुपका आङछिरिङ शेर्पालगायतको ज्यान गएको थियो । 

यस्तै, ५ मे २०२३ मा सिम्रिक एयर संखुवासभाको भाटखोलामा दुर्घटना हुँदा एकजना, ११ जुलाई २०२३ मा मनाङ एयर लामाजुरा सोलुखुम्बुमा दुर्घटना हुँदा ६ जना, १४ अक्टोबर २०२३ मा मनाङ एयरकै हेलिकोप्टर लोबुचे सोलुखुम्बुमा दुर्घटना हुँदा एक (पाइलट)को मृत्यु भएको थियो । लोबुचे दुर्घटनामा घाइते पाइलट प्रकाश सेढाईंको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा ज्यान गएको थियो । बुधबार मानवीय क्षति हुने गरी नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टी दुर्घटनामा परेको छ । यो दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । 

सुझावित समाचार