घरेलु टोली उपविजेतामै सीमित : काभा नेसन्स लिग उपाधि भारतलाई

उपाधि भिडन्तको निर्णायक सेटमा घरेलु खेलाडी चल्न नसक्दा भारतद्वारा नेपाल ३–२ ले स्तब्ध

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

भारतसँग पाँचौँ सेटमा पराजित हुँदा नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपविजेता बनेको छ । त्रिपुरेश्वरको कभर्ड हलमा बुधबार भएको उपाधि भिडन्तमा भारतले नेपाललाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराएको हो । नेपालले फाइनल खेल २५–२३, १४–२५, २५–२२, २१–२५ र ५–१५ ले गुमायो । लिग चरणको खेलमा नेपालले पहिलोपटक भारतलाई ३–२ को सेटमा स्तब्ध बनाएको थियो । 

घरेलु खेलाडीले उपाधि भिडन्तमा लिग चरणको नतिजा दोहोर्याउन सकेन । कभर्ड हलमा नेपाल भारतसँग दुईपटक फाइनलमा पराजित भयो । सन् २०१९ को १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला भलिबलको स्वर्ण भिडन्तमा नेपाल भारतसँग ३–२ कै सेटमा पराजित भएको थियो । पाँच वर्षअघिको स्वर्ण भिडन्तमा नेपालले भारतविरुद्ध २–० को अग्रता लिएको थियो । भारतले सानदार कमब्याक गर्दै सागमा स्वर्ण हात पारेको थियो । 

‘फेरि पनि भारतसँग पराजित भयौँ । पाँच वर्षअघि यही नतिजा आएको थियो,’ नेपालका प्रशिक्षक जगदीश भट्टले नयाँ पत्रिकासँग भने, ‘हामीले लिग चरणमा भारतमाथि पहिलोपटक जित निकाल्यौँ, तर मुख्य उद्देश्य नै साग फाइनलमा व्यहोरेको हारको बदला लिने थियो । तर, निर्णायक खेलमा मुख्य खेलाडी चल्न नसक्दा पराजित भएका छौँ ।’ 

नेपाल काभा महिला नेसन्स लिगमा तेस्रोपटक फाइनल पुगेको हो । नेपाल पहिलोपटक उपविजेता भएको छ । नेपालले बंगलादेशमा सन् २०१९ र २०२१ को संस्करणको उपाधि जितेको थियो । प्रतियोगिताको तेस्रोपटक संस्करण राखेपको कभर्ड हलमा हुँदा नेपाल भारतसँग सेमिफाइनलमा पराजित भयो । गत संस्करणमा नेपाल तेस्रो भयो । 

नेपाली टोलीकी कप्तान अरुणा शाहीले भारतलाई हराउँदै उपाधि जित्ने हुटहुटी पूरा नभएको बताइन् । ‘मैले लिग चरणमा प्राप्त ऐतिहासिक जितमा धेरै खुसी नहुन भनेकी थिएँ । नेपालको निर्णायक खेल फाइनल भनेको थिएँ,’ अरुणाले भनिन्, ‘उपाधि भिडन्तमा चुक्यौँ । सबै खेलाडी एकैपटक चल्न सकेनन् । भारतले दबाब बनाउँदै उपाधि उचाल्यो ।’ 

पाँच सेटसम्म चलेको फाइनल
भारत र नेपालबीचको फाइनल खेलमा कभर्ड हल फुल हाउस थियो । दर्शकले उभिएरै फाइनलको रोमाञ्चकता लिए । उषा भण्डारी, निरुता ठगुन्ना, कप्तान अरुणा, सरस्वती चौधरी, सुमित्रा रेग्मी र सलिना श्रेष्ठ चम्किएपछि पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो । तर, दोस्रो सेटमा नेपालले निराशाजनक प्रदर्शन गर्यो । भारतले पुनरागमन गर्दा नेपालका कुनै पनि खेलाडी चल्नै सकेनन् । प्रशिक्षक भट्टले आरती सुवेदी, पुनम चन्द र सफिया पुनलाई प्रयोग गरे पनि नेपालको रणनीति सफल भएन । भारतले खेल २५–१४ ले जित्दै सेट १–१ को बराबरी गर्यो । तेस्रो सेटमा नेपाल लयमा फर्कियो । 

तेस्रो सेटमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै २५–२२ को जित निकाल्यो । यस सेटमा भारतले सुरुमा अग्रता लिएको थियो । चौथो सेटमा भारत बलियो रूपमा प्रस्तुत भयो । तेस्रो सेटमा भारतले लिएको ४ अंकको अग्रता अन्तिमसम्म रक्षा गर्दै नेपाललाई २५–२१ ले हरायो । उपाधि भिडन्त २–२ को सेटमा पुगेको थियो । निर्णायक तथा पाँचौँ सेटमा नेपाली खेलाडीले खेल्नै सकेनन् । घरेलु खेलाडी सुरुदेखि नै कमजोर देखिए ।

यसविपरीत भारत सुरुवाटै हाबी भयो । नेपाली खेलाडीले एकपछि अर्काे गल्ती गर्दै गए । पाँचौँ सेटमा भारतले ५ अंकको अग्रता बनाएको थियो । भारतले नेपालमाथि दबदबा बनाउँदै १५–५ को जित निकाल्यो । ‘भारतीय खेलाडी नियमित ५–६ जना एकै टिमबाट खेल्छन् । कप्तान जुनीको कमब्याकसँगै भारत बलियो देखियो,’ नेपालका प्रशिक्षक भट्टले भने, ‘उसको आगमनपछि भारतले हामीमाथि दबाब राख्यो ।’

भारतकी सालिनी सर्वाेत्कृष्ट
काभा लिगमा भारतकी सालिनी सर्वाेत्कृष्ट खेलाडी चुनिएकी छिन् । विधागत उपाधिमा भारतको दबदबा रह्यो । सालिनी नै आउटसाइड हिटर घोषित भइन् । फाइनलमा नेपालविरुद्ध उनले सर्वाधिक १७ अंक जोडेकी थिइन् । भारतकी सूर्या उत्कृष्ट मिडब्लकर र उत्कृष्ट सेटरमा जुही चुनिएका छन् । उत्कृष्ट लिबेरोमा नेपालकी सलिना श्रेष्ठ र अपो–साइडमा सरस्वती चौधरी चुनिएका छन् । सरस्वतीले फाइनलमा नेपालका लागि सर्वाधिक २६ अंक जोडेकी थिइन् । इरानकी मासी आउटसाइड हिटर र घापफरिअन उत्कृष्ट मिड ब्लकर चुनिएकी हुन् ।

आशा गरिएका खेलाडी चलेनन् : जगदीश भट्ट, प्रशिक्षक, नेपाल 
भारतविरुद्ध रणनीतिअनुसार प्रदर्शन भएन । हामी रिसिभ र सर्भिसमा चुक्यौँ । चौथो सेटमा खेल आफ्नो पक्षमा पार्न सक्नुपर्थ्यो । आशा गरिएका मुख्य खेलाडी चल्न सकेनन् । भारतले फाइनलमा रिसिभ र ब्लक राम्रो गर्यो । हामीले पाँचौँ सेटमा पनि राम्रो गर्न सकेनौँ । भारतले निर्णायक मोडमा दबाब बनायो । नेपालको सोझो सेटमा जित्ने योजना थियो । चौथो सेट गुमाएसँगै मैले आशा गुमाएको थिएँ । यो हारको जिम्मेवारी म लिन्छु । सबैसँग क्षमा चाहन्छु । यो प्रतियोगिताले भारत र इरानभन्दा हामी तुलात्मक रूपमा कमजोर भए पनि उनीहरूलाई हराउन सक्छौँ भन्ने सन्देश दियौँ । 

भारतलाई हराउँदै उपाधि जित्ने सपना पूरा भएन : अरुणा शाही, कप्तान, नेपाल
पाँचौँ सेटमा खेलाडी चल्न नसक्नु नै हारको मुख्य कारण हो । सबै खेलाडी कुनै पनि समय चल्न सकेनन् । एक खेलाडी चल्दा अर्काे नचल्ने देखियो । हामी रिसिभ र ब्लकमा चुक्दा नै भारतले त्यसैमा राम्रो गर्यो । त्यसपछि दबाबमा खेल्नुपर्यो । प्रतियोगितामा खेलेका पाँचै खेल राम्रा थिए । खेलमा हारजित हुन्छ । मैले भारतविरुद्धको ऐतिहासिक जितमै खुसी नहुनु भनेकी थिएँ । भारतलाई हराउँदै उपाधि जित्ने हुटहुटी थियो, त्यो सपना पूरा गर्न सकेनौँ । तर, काभा नेसन्स लिगमा हाम्रो स्तर बढेको छ । 

See More On

सुझावित समाचार