काभ्रेमा करछलीको आशंकामा खाद्यान्न बरामद

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण

काभ्रेको धुलिखेल– ९ काभ्रेभञ्ज्याङमा कागजात नभएको करछलीको आशंकामा खाद्यान्न प्रहरीले बरामद गरेको छ । तराईबाट काठमाडाैं ल्याउँदै गरेको करछलीको खाद्यान्न बरामद गरी राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाएको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज दिउँसो धुलिखेल– ९ काभ्रेभञ्ज्याङस्थित बिपी राजमार्ग सडकखण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा महेन्द्रनगर धनुषाबाट काठमाडौं गोकर्णेश्वरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ ख ०२१८ नम्बरको ट्रक रोकी चेकजाँच गर्ने क्रममा आवश्यक कागजात नभएको खाद्यान्न फेला परेको थियो । 

चालक महोत्तरी जिल्ला बर्दीबास– १ खयरमाराका ३९ वर्षीय हिरा तामाङले चलाएर ल्याएको ट्रकमा विभिन्न कम्पनीको चामल ४५ बोरा, दाल २५ बोरा, केराउ पाँच बोरासहित १५० बोरा रहेकोमा आवश्यक कागजात नपाएको प्रहरीले जानकारी दिए । 
करसम्बन्धी कागजात नभएको खाद्यान्न बरामद गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाइएको प्रहरीले जानकारी दिएकाे छ । 

सुझावित समाचार