प्रोपगान्डाका हाम्रा परिभाषा पुराना भइसकेका छन्, किनभने हामी प्रोपगान्डाको सन्देशमा मात्रै धेरै ध्यान दिन्छौँ
बेलायतका ठूला–साना सहरमा उग्र–दक्षिणपन्थी चरमपन्थी र प्रहरीबीचको हालैका हिंसात्मक झडपले नश्लभेदी, हिंसात्मक र दुव्र्यवहारका प्रोपगान्डाको फैलावटसँग कसरी लड्ने भनेर चिन्ता बढाएको छ । तथ्य जाँच गर्ने मिथ्या सूचना हटाउने र सामाजिक सञ्जालको मञ्चलाई घृणित सामग्री हटाउन दबाब दिने नीति प्रभावकारी नरहेको कठोर यथार्थ हामीमाझ छ । हटाइएका प्रत्येक मिथ्या सूचनाका ठाउँमा एक नयाँ मिथ्या सूचना द्रुत रूपमा देखा परिहाल्छ । यी प्रोपगान्डाको प्रचार गर्नेहरू प्रोपगान्डाका प्रतिरोध गर्न खोज्नेहरूको रणनीतिभन्दा अगाडि छन् । यी प्रोपगान्डाका प्रचारक सन्देश मात्र नभई आफ्ना दर्शकलाई लक्षित गर्नमा केन्द्रित हुन्छन् । घृणायुक्त सूचनाले ‘क्लिकबेट’को (सूचनासम्बन्धी वेबसाइट खोल्ने उत्सुकता) रूपमा काम गर्छ र सामाजिक सञ्जाल एल्गोरिदमले यसलाई तीव्र रूपमा विस्तार गर्छ ।
साउथपोर्टमा अशान्ति तब सुरु भयो, जब चक्कु आक्रमणमा तीन बालिकाको मृत्युको विरोधको दाबी गर्ने समूहले एक मस्जिदलाई निसाना बनायो । सो समूहले आक्रमणकारी आप्रवासी हो भन्ने भ्रामक सूचनामा विश्वास गरेको थियो । कारबाहीका क्रममा ५० भन्दा बढी प्रहरी घाइते भए । आक्रमणबारे भ्रामक जानकारी अनलाइनमा फैलियो र रिफर्म पार्टीका सांसद निगेल फारेजले आक्रमणकारीको पहिचानबारे शंकासमेत जनाए, यद्यपि उनले पछि बिबिसीमा आफूले केवल सामान्य चिन्ता व्यक्त गरेको दाबी गरेका थिए ।
प्रोपगान्डाका हाम्रा परिभाषा पुराना भइसकेका छन्, किनभने हामी प्रोपगान्डाको सन्देशमा मात्रै धेरै ध्यान दिन्छौँ, जबकि सन्देश क्लिक, आम्दानी वा शक्तिले उत्पन्न गर्ने लक्ष्यका लागि गौण हो । प्रोपगान्डाकारीले आफ्ना श्रोतालाई लक्षित गर्न आप्रवासीका लागि ‘पर्खाल निर्माण गर’ वा तिनका ‘डुंगालाई रोक’ वा हत्याबारे झुटा दाबीजस्ता रणनीति प्रयोग गर्छन् । तथ्यात्मक शुद्धता अप्रासंगिक छ । लक्ष्य भनेको धेरैभन्दा धेरै मानिसमा पुग्नु र प्रभाव पार्नु हो । यदि यी प्रोपगान्डा हटाइए पनि प्रोपगान्डाकारी केवल परिस्थितिसँग अनुकूलन गर्छन् र प्रायः आफूलाई सेन्सरसिपको सिकारको रूपमा चित्रण गर्छन् । सन्देशमा ध्यान केन्द्रित गर्नुको सट्टा हामीले प्रोपगान्डाकारीले लक्षित गरेका दर्शकमा ध्यान केन्द्रित गर्नुपर्छ ।
कल्पित समुदाय : आधुनिक प्रोपगान्डाकारीले राजनीतिक, वैज्ञानिक बेनेडिक्ट एन्डरसनले प्रतिपादन गरेझैँ ‘कल्पित समुदाय’ निर्माण गर्छन् । ‘कल्पित समुदाय’ त्यस्तो अवधारणा हो, जहाँ मिथक, प्रतीक र इतिहासको प्रयोग गरेर एक समुदाय स्थापना गरिन्छ । यो अवधारणा प्रभावकारी प्रोपगान्डाका लागि मिथक महत्वपूर्ण छन् भन्ने ज्याक एलुलको दृष्टिकोणसँग मेल खान्छ । यस्तोमा बेलायतमा स्पिटफायर वा रोयल्टीजस्ता केही प्रतीकले व्यापक रूपमा मान्यता प्राप्त गरेका छन् । यसबाहेक प्रोपगान्डाकारीको कल्पित समुदायमा आप्रवासीलाई घर नाश गर्ने कक्रोच (साङ्लो) को संज्ञा दिने वा षड्यन्त्र सिद्धान्तमा विश्वास गर्ने समूह निर्माण गरिन्छ । यी समूहले प्रायः बाहिरियालाई केही पनि नजान्ने मानिसका रूपमा हेर्छन् र यिनलाई ‘अनुसन्धान’ गर्न आग्रह गर्छन् । आफ्नो पुस्तक ‘एमङ द ट्रोल्स’मा बिबिसी दुराशययुक्त सूचना एवं सामाजिक सञ्जाल संवाददाता मारियाना स्प्रिङले एल्गोरिदममा भएका छिद्रका कारण प्रोपगान्डाकारीले कल्पित समुदायको सिर्जना गर्छन् भनेर अन्वेषण गरेकी छिन् ।
मिथकले ‘आक्रामक’ प्रोपगान्डामा महत्वपूर्ण भूमिका खेल्छन्, जुन ऐतिहासिक रूपमा युद्धका लागि मानिस जुटाउन प्रयोग गरिन्थ्यो । आज यस प्रकारको प्रोपगान्डाले नश्लभेदी चरमपन्थीको घृणा र यौनासक्तको स्त्रीद्वेषी दुव्र्यवहारलाई प्रोत्साहन गर्छ । एन्ड्रयु टेटजस्ता स्त्रीद्वेषीले आक्रामक विचारधारालाई प्रोत्साहन गरेर अनुयायीलाई परिचालन गर्छन् । ज्याक एलुलका अनुसार ‘घृणा सामान्यतया प्रोपगान्डाको सबैभन्दा लाभदायक स्रोत हो’ किनभने यसले एकको समस्याका लागि अरूलाई दोष थोपर्न मद्दत गराउँछ । आक्रोशित प्रोपगान्डा तब प्रभावकारी हुन्छ, जब यसले एक ‘बलिको बोको’ पहिचान गर्छ, जसमाथि दोष थोपर्न पर्याप्त शक्तिशाली हुन्छ, तर चुनौती दिन भने धेरै शक्तिशाली हुँदैन । जब सामाजिक सञ्जाल बोट (सामाजिक सञ्जालमा निर्मित कृत्रिम प्रयोगकर्ता) यसमा जोडिन्छन्, तब यसले लोकतान्त्रिक बहसका लागि विषाक्त वातावरण सिर्जना गर्छ ।
अबको बाटो : तथ्य–जाँच महत्वपूर्ण छ, तर यसले मूल मुद्दालाई सम्बोधन गर्दैन । वास्तवमा प्रभावकारी दृष्टिकोण भनेको सूचनाको स्रोतलाई पहिचान गरेर त्यसमा संलग्न हुन आवश्यक छ, ताकि प्रोपगान्डालाई थप भरपर्दो स्रोतसँग भिडाएर र सम्भवतः केही हानिकारक सञ्जाल अवरुद्ध गरेर हामी मिथ्या समाचार पछ्याउने मात्र नभई समस्यालाई थप व्यापक रूपमा सम्बोधन गर्न सक्छौँ । एकपटक हामीले यी सूचनाको स्रोत पत्ता लगाएपछि हामी यिनलाई परिचालन गर्ने एल्गोरिदम र प्रोपगान्डाकारीले तारो बनाउने व्यक्ति विशेषमा ध्यान केन्द्रित गर्न सक्छौँ । हाम्रो उद्देश्य भनेको यी एल्गोरिदमको पृथक् प्रभावको प्रतिरोध गर्न वैकल्पिक परिप्रेक्ष्य, प्रतीक र आधारभूत मिथक प्रस्तुत गरेर स्थितिलाई मध्यस्थता र सुधार गर्नु हो ।
स्प्रिङले प्रभावितको भावनात्मक असरलाई जोड दिँदै कपटी मानसिकता भएकाले क्लिकबेट सिर्जना गरेर मानिसको जीवन कसरी बर्बाद हुन्छ भनेर वर्णन गरेकी छिन् । तथ्य–जाँचले प्रायः यसका समर्थकमाझ प्रोपगान्डामा विश्वास गर्ने व्यक्ति अज्ञानी हुन्छन् भन्ने विश्वास पाल्छन् । ट्रम्पका सल्लाहकार स्टिभ ब्याननले भनेझैँ दुराशययुक्तकर्ता ‘बकवासको बाढी’ उत्पन्न गर्न तयार हुन्छन्, जसले मिथ्या सूचनालाई हटाउन लगभग असम्भव बनाइदिएको छ । यद्यपि पहिले श्रोतामा ध्यान केन्द्रित गर्यौँ भने हामी विलखबन्दमा परेकालाई अराजकताबाट बाहिर ल्याउन सक्षम हुन सक्छौँ ।
(फर्न स्वानसे विश्वविद्यालयका सञ्चारका लेक्चरर हुन्)
द कन्भर्सेसनबाट